दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतले मनपरी गर्न थालेको छ । आज (मंगलबार) मात्रै भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको छ ।
तटबन्ध निर्माण कार्य गरिरहेको भन्दै भारतीयले नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले नेपालको क्षेत्रमा स्काभेटर चलाएपछि नेपाल र भारतका स्थानीय नागरिकबीच ढुंगा हा’नाहान समेत भएको बताइएको छ । भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद सुरु भएको थियो ।
दार्चुला प्रशासनसँग समन्वय नै नगरेर भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर धार परिवर्तन गरेपछि दुवै देशका नागरिकबीच ढुंगा हा’नाहान भएको हो ।
महाकाली नदीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हा’नाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गररहेको उनले बताए । नेपाली भूभागबाट ढुंगा उत्खनन् समेत गरेको उनको भनाई छ ।
ढुंगा हाना’हानपछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरवितर गरिएको थियो ।
यसअघि, दार्चुलाकै कालापानी, लिपुलेक क्षेत्रमा भारत र नेपालको विवाद छ । नेपालको भूमिमा भारतले क’ब्जा गरेर सडकसमेत निर्माण गरेको छ भने त्यहाँ सेनाको बसोबास छ ।

