पूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी चुनावमा पार्टीलाई एक नम्बर बनाउन मैदानमा उत्रिएका छन् । चुनावी खर्च कम गर्ने र प्रचार बढी गर्ने महामन्त्री गगन थापाको आइडियालाई नेपाली कांग्रेसले देशैभर लागू गर्ने भएको छ।
२०७४ सालमा गगनले काठमाडौं क्षेत्र नम्बर ४ मा प्रयोग गरेको चुनावी खर्च र पार्टी पंक्ति परिचालनको मोडललाई कांग्रेसले स्थानीय चुनावमा देशैभर लागू गर्ने भएको हो।
थापाले सांसद उठ्दा बनाएको चुनावी मोडललाई थप परिस्कृत गरेर कांग्रेसले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव र त्यसअघि गरिने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा प्रयोग गर्न लागेको हो।
थापाले ०७४ मा आफ्नो निर्वाचन क्षेत्रभित्रका नेता–कार्यकर्तालाई आफ्नै टोलमा केन्द्रित गराएका थिए। यसो गर्दा चुनावी प्रचार खर्चसमेत अन्यत्रभन्दा कम लागेको थियो।
टोलका नेता–कार्यकर्ता टोलमै केन्द्रित गर्दा पार्टीमा भोट पनि बढेको र चुनावी खर्चसमेत कम लाग्ने देखिएपछि उक्त मोडल यसपालि कांग्रेसले स्थानीय चुनावमा देशैभर लागू गर्दैछ। आफूले चुनावका बेला पहिले काठमाडौं ४ मा यो मोडल लागू गरेको थापा बताउँछन्।
चुनावी रणनीति कस्तो लिने भन्नेबारे कांग्रेसले अहिले नै प्रष्ट रूपमा खुलाउन चाहेको छैन। यसबारे संस्थागत निर्णयसमेत गरिएको छैन। महामन्त्री थापाले आफूले प्रयोग गरेको उक्त रणनीतिलाई देशका विभिन्न ठाउँमा सभा तथा आन्तरिक प्रशिक्षणमा पुगेर सुनाइसकेका छन्, त्यो बाटो हिँड्न भनेका छन्।
कांग्रेसले यसपालि मेसिन, मेकानिक, मेसेज र मेसेन्जर चार एम चुनावी प्रचारका क्रममा लागू गर्न सकिने बताएको छ। पहिलेका चुनावमा भन्दा व्यवस्थित र व्यवहारिक ढंगले चुनावी अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी छ।
पार्टीमा संरचनात्मक काम र सन्देश प्रवाह गर्न टोल कार्यसमितिलाई क्रियाशील बनाउने नीति कांग्रेसले लिएको छ। टोललाई नै पार्टी काममा क्रियाशील बनाउँदा चुनावी खर्च कम लाग्ने आकलन कांग्रेसको छ।
कांग्रेसले चुनावी प्रचार अभियान नयाँ ढंगले सुरू गर्न लागेको पनि विगतका नमिठा घटनाबाट पाठ सिकेर हो। विगतका चुनावमा नेतासँगै हुलका हुल मानिस कार्यक्रममा जाने तर ती कार्यक्रमले पार्टीमा खासै भोट नबढ्ने गरेको पाइएका थिए।

