पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्क भएर निर्वाचनमा होमिन निर्देशन दिएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई शुक्रबार सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
उनले कर्णालीका दशवटै जिल्लाको रिपोर्ट आफूले सुनेको बताउँदै नेता कार्यकर्तालाई ढुक्क भएर चुनावमा जान पनि बताएका छन्।
‘हामी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेका छौँ। कोभिड र राष्ट्रिय राजनैतिक परिवेशको कारण बैठक केही ढिलो भयो। मैले १० वटै जिल्लाको रिपोर्ट सुनेँ।
सबै माग र समस्याको सम्बोधन हुन्छ’, उनले भने, ‘ढुक्क भएर चुनावमा जानुस्।’
उनले अरु दलको भन्दा आफूहरुको महाधिवेशन फरक रहेको पनि बताए। ‘अरुको भन्दा हाम्रो महाधिवेशन फरक रह्यो। यसबीचमा हामीले प्रतिगमनविरुद्ध लड्यौँ। हाम्रै जोडबलमा संविधान प्राप्त भएको हो’, उनले भने, ‘प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र भएको थियो। त्यसविरुद्ध हाम्रो आन्दोलन सफल भएको थियो।’
उनले क्रान्तिको रक्षा गर्दै प्रतिक्रान्ति रोक्न आफूहरु सक्षम भएको कुरा स्थापित भएको बताए।
‘हामी रंगिन क्रान्ति गर्न तयार छौँ। सबै स्वार्थ त्याग गर्न तयार भएर नै यी सफलता हाँसिल गरेका छौँ’, उनले भने, ‘प्रतिक्रान्तिकारी नेतृत्वविरुद्ध हामीले विद्रोह गरेका थियौँ।’
उनले ओलीलाई सत्ताबाट फ्याँक्न गरेको आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन तयार नभएको पनि बताए। ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने रुचि थिएन।
उनले सम्भावना पनि देखेका थिएनन्’, उनले भने, ‘तर हामीले सम्भावना देखायौँ। केपी ओली प्रवृत्तिविरुद्ध हाम्रो लडाइँ थियो। हाम्रो नेतृत्वमा प्रतिगामीविरुद्ध लडाइँ भएर पाँच दलीय गठबन्धन बनेपछि देउवा प्रधानमन्त्री भए।’

