अभिनेता राजेश हमालले काठमाडौं सहरको अव्यवस्थाबारे व्यंग्य गर्न ‘काठमाडौंको मेयर बन्नुपर्छ कि क्या हो’ भनेको बताएका छन् । शुक्रबार आफ्नै एकल स्वर रहेको गाउँले ठिटो गीत सार्वजनिक कार्यक्रममा आफूले व्यग्ंयात्मक रुपमा मेयरको प्रसंग उठाएको बताएका हुन् ।
काठमाडौंको सौन्दर्यीकरणमा कसैले पनि ध्यान नदिएकाले पनि आफूले उक्त कुरा भनेको हमालले बताएका छन् । हमालले भने, ‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ ।
तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ ।’
बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमालु शीर्षको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको बताएका थिए ।
शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ ।
गीतमा गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतमा रोजगारीका लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा देखाइएको छ ।
भिडियोमा हमालका साथै उत्तम केसी, गोविन्द भट्ट, एस।के।दाहाललगायतको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए ।
हमाल राजनीतिमा छिरे एमालेमा प्रवेश गर्ने हल्ला थियो । तर, हमालको यस्तो उद्घोषले एमालेजनमा निराशा छाएको चर्चा बढेको छ ।

