नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो दुई सातादेखि राजनीतिक भेटघाटमा सक्रिय हुनुहुन्छ । फागुन १५ गते संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको हो ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिर्नुअघि उहाँले बिहान पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग डल्लुमा डेढ घण्टा वार्तालाप गर्नुभएको थियो ।
यसअघि उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि दुई पटक भेट्नुभयो ।
माओवादी नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ,एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,कृष्णबहादुर महरा र एमाले नेता तथा पूर्वमन्त्री डा। भीम रावललाई पनि नेकपाका शीर्ष नेताहरुले भेट गरिसकेका छन् ।
आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्न महासचिव चन्दसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड जानुभएको बताइन्छ ।
सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति रहेको नेकपा स्रोतले बताएको छ । उहाँहरुबीच एकछिन अघिसम्म कुराकानी चलिरहेको थियो । कुराकानीको विषय दुवै पक्षले सार्वजनिक गरेको छैन ।
तर,ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन र जे’लमा रहेका ८४ जना नेता,कार्यकर्ताको रिहा’इमा विप्लवको जोड रहेको बताइन्छ ।

