नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुन चाहेको बताएका छन् ।
पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहान धनगढी गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारमा कांग्रेस समेत सहभागी हुने विषयमा गठबन्धनका दलहरुबीच कुराकानी भइरहेको बताएका हुन ।
‘गठबन्धनमा यो विषयमा छलफल भएको छ,’ उनले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर माधवजीलाई मैले भनेको छु ।’
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको प्रचण्डले बताए । प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको उनको भनाइ छ ।
‘माधवजीहरुले ठूलो दलको हैसियतमा प्रदेशको नेतृत्व उनीहरुलाई दिनुपर्ने कुरा गर्नुभएको छ,’ प्रचण्डले भने, ‘तर त्यो हो भने हामी सबैभन्दा बढी भएको बाग्मति हामीलाई दिने गरौैं भनेर हामीले कुरा गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको छ ।’
अध्यक्ष प्रचण्डले गठबन्धनले सल्लाह गरेर कांग्रेसलाई भने सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए ।

