स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबारदेखि दरखास्त आह्वान गरिएको हो। चैत ६ देखि ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन्।
म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीन वटा प्रहरी परिसरमा पाइन्छ। साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन्।
सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउनेछन्।
यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकाहरुलाई पनि प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। २०७८ चैत १५ बाट म्यादी प्रहरीको छनोट सुरु हुने र चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
निवेदन महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर र जिल्ला सबै प्रहरी कार्यालयमा दिन सकिने कार्यालयले जनाएको छ ।
म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरहको मासिक २२ हजार ६८० रुपैयाँ प्राप्त गर्ने छन् । यो पटक ४० दिनसम्मका लागि ३० हजार ३४० रुपैयाँ खातामा जम्मा हुने कार्यालयले जनाएको छ ।
त्यस्तै खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्नका लागि प्रतिव्यक्ति ६ हजारका दरले उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
त्यस्तै निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीका लागि जाने आउने तयारी स्वरूप प्रतिव्यक्ति एकपटकका लागि १ हजारका दलले उपलब्ध गराउने पनि कार्यालयले जनाएको छ । बीमा लगायतका अन्य सुविधा सरकारले तोके अनुसार हुने बताइएको छ ।
योग्यता
दरखास्त फाराम दर्ता गर्ने मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने,
नेपाली नागरिक हुनुपर्ने,
कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको,
कुनै राजनीतिक दलको सदस्य नरहेको,
शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको,
साधारण लेखपढ गर्न जान्ने ।
प्राथमिकता
सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल०मा विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्ति,
नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू,
विदेशी मित्रराष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिक,
विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक कार्य गरेका व्यक्ति ।
अघिल्लो पटक दोब्बरभन्दा धेरै आवेदन
स्थानीय तहको निर्वाचन २०७४ मा म्यादी प्रहरी निर्वाचनको लागि आवश्यकताभन्दा दोब्बर आवेदन परेको थियो ।
२०७४ मा स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी माग गरिएकोमा एक लाख ७२ हजार आवेदन परेको थियो ।
गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि भन्दै म्यादी भर्ना गर्न आवेदन मागेको थियो ।
अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको अवधि ५५ दिन तोकिएको थियो ।
२०७४ मा नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि प्रदेश नम्बर १ मा १२ हजार ५५१ जना मागेकोमा ३७ हजार ६५६ जनाको आवेदन परेको थियो ।
यस्तै गरी मधेस प्रदेशमा १६ हजार ९०९ जना माग गरेकोमा ३५ हजार ७१ जना, बागमतीमा १२ हजार ८०२ जना माग गरेकामा २४ हजार १०२ जनाले आवेदन दिएका थिए ।
त्यस्तै, गण्डकीमा ६ हजार ६५७ जना माग गरेकोमा १२ हजार आठजना, लुम्बिनीमा १४ हजार १५१ जना माग गरेकोमा ३५ हजार ७२८ जनाको आवेदन परेको थियो ।
त्यसैगरी कर्णालीमा पाँच हजार १८ जना माग गरेकामा १५ हजार ११८ जना र सुदूरपश्चिम प्रदेशमा १९ हजार २५८ जनाले आवेदन दिएका थिए ।

