कहिलेकाही संयोग पनि कस्तो भने सरकार प्रमुख एक भेगको,अत्यधिक अवसर पाउने पनि उतैका । एमाले अध्यक्ष केपी ओलीको पालामा पनि देखिएको यस्तो प्रवृत्ति अहिले सुदूर पूर्वबाट सोझै सुदूर पश्चिम सरेको छ ।
योग्यता र कार्यसम्पादन आफ्नो कुरा,हेरिदिने र बुझिदिने कोही हुँदा र नहुँदा अवसरको वितरणमा राम्रै फरक पर्ने रहेछ । प्रसङ्ग आज नेपाल प्रहरीको एआइजी बढुवा सिफारिसमा परेका डिआइजीहरुको हो जो सबै सुदूर पश्चिममा जन्मिएका हुन् तीमध्ये एक जना त अझ प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुराका छन् ।
नेपाल प्रहरीमा एआईजी बढुवाको निम्ति सिफारिस गरिएका तीन जनाको सूचीमा बसन्त पन्त,धिरज सिंह र रविन्द्र धानुकको नाम उल्लेख छ । रिक्त तीन पदमा पन्त,सिंह र यसमा केही समय अघिसम्म निकै प्रभावशाली मानिएका र हाल कर्णाली प्रदेश प्रमुखमा कार्यरत डडेल्धुराकै गणेश ऐरको नाम छुटेको छ ।
ऐरलगायत धेरै जना डिआईजी अब स्वतः अवकाश भएर घर जाने अवस्थामा पुगेका छन् । ऐर र पन्त एउटै जिल्लाका हुन् ।
सिफारिस भएका उम्मेदवारमध्ये धिरज बझाङका र धानुक बैतडीका हुन् । यसरी जिल्लाको हिसाबले प्रहरीको उच्च तहमा सुदूर पश्चिमको पकड कायम हुने भएको छ ।
आजको सिफारिसपछि डिआईजीहरुमध्ये उत्तम सुवेदी, बसन्त लामा,ईश्वरबाबु कार्कीलगायत छुटेका छन् । पन्त डिआईजीहरुमध्ये अघिल्लो लटका हुन् भने दुई जना पछिल्लो लटका । एआईजी भए पनि पन्त आईजी नहुने निश्चित देखिन्छ । उनी आईजी शैलेश थापा क्षेत्रीसँगै बैशाख १८ गतेदेखि घर जाने छन् ।
यो हिसाबले बसन्त मुश्किलले दुई महिनाको लागि एआईजी हुने भएका छन् । बाँकी अरु दुई जना भने विश्वराज पोखरेलको ब्याची हुन् । आज प्रहरी प्रधान कार्यालयले सिफारिश मात्र गरेकाले बैशाखमा अवकाश हुने र सिफारिशमा छुटेकाहरुले मुद्दा हाल्न सक्ने सम्भावना पनि प्रबल देखिन्छ ।
बैशाखमा घर जानेहरुमध्ये सुदूरपश्चिमका डिआइजी पुरुषोत्तम कँडेल,कर्णालीका गणेश ऐर, लुम्बिनी,गण्डकी,बागमती र १ नम्बरका अरुण बिसीसम्म छन् । त्यसैगरी हेटौंडाका डिआइजी प्रकाशजंग कार्की र मधेश प्रदेशका उमेश रञ्जित पनि त्यहीबेला घर जाँदै छन् ।

