सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा एमालेमा फर्किएका छन् । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् । उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए ।
बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए। यस्तै विभाजनपछि समाजवादी रोजेका वीरेन्द्रनगरका नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा, विमला थापा पनि एमालेमै फर्किएको एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए ।
यस्तै वीरेन्द्रनगर नगरपालिका– १० का वडा सदस्य सुनिता चौधरी पनि एमाले फर्किएकी छन्।
जुम्लाका कांग्रेस नेतासहित विभिन्न पार्टीका १७ जना एमाले प्रवेश, ओलीले गरे स्वागत
नेपाली कांग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेसको जुम्ला प्रदेशसभा ९ख० क्षेत्रीय समितिका उपसभापति दानसिंह खत्री, विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसीलगायत विभिन्न पार्टीका डेढ दर्जन स्थानीय नेताहरू एमाले प्रवेश गरेका हुन् ।
उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा अबिर र खादा लगाइदिएर स्वागत गरे । सो क्रममा अध्यक्ष ओलीले देशभर नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेको भन्दै गठबन्धनसँगको प्रतिस्पर्धाका लागि एमाले तयार रहेको बताएका थिए ।

