अभिनेता पल शाह नाबालिग गायिकासँग अनैतिक सम्बन्ध राखेको आरोपमा यतिबेला प्रहरीको नियन्त्रणमा छन् । उनको केही अडियो रेकर्ड बाहिर आएपछि यतिबेला सामाजिक सञ्जाल यही विषयले तातेको छ ।
यसैक्रममा, गत पलले मंगलवार फेसबुकमा लामो स्टाटस लेख्दै सोमवार सार्वजनिक भएको अडियो रेकर्डहरु हेर्दा र सुन्दा आफू आश्चर्यचकित भएको बताएका छन् ।
अडियो रेकर्डमा बज्ने आवाज आफ्नो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवाज आफ्नै हो भन्नेमा पुर्ण शंका रहेको र प्रविधिको कुटिल प्रयोग गरी आफ्नो बदनाम गर्न खोजिएको पलले स्पष्टिकरण दिएका छन् ।
उनले लेखेका छन्, ‘चलचित्रमा अभिनय गर्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी ९व्यवसायिक प्रतिस्पर्धी० ले नीज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो ।’
आफ्ना सहकर्मीले उकासे बमोजिम नै समीक्षाले बोल्दै आएको उनले उल्लेख गरेका छन् । पल शाहले समीक्षा अधिकारीलाई आफ्ना प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको र ती प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
आफूलाई जोडेर आएका समाचारहरु वास्तविकताभन्दा धेरै टाढा रहेकाले यसबाट भ्रमित नहुन उनले आफ्ना प्रशंसकहरुलाई अपिल गरेका छन् । पल र समीक्षाबीच आमने(सामने भएर कुराकानी गरेको अडियो रेकर्डमा समीक्षाले बिहेको अडान कसेर बसेकी छन् भने पलले विवाह गरे आफू खुसी नहुने आशय व्यक्त गरेका छन् ।
त्यस्तै, महिला अधिकारकर्मीसँगको बयानमा समीक्षाले आफूमाथि पलले विवाहको आश्वासन दिएर धोका दिएको बताएकी छन् ।
यतिबेला सामाजिक सञ्जालमा यी दुई अडियो रेकर्ड छ्यापछ्याप्ती छन् । एक अडियोमा पलले पेटमा बच्च भएको भए लफडा हुन सक्ने तर अहिले बच्चा नभएको भन्दै यो बिषयलाइक्षर्् सामसुम पारेर गायिकालाई मनाउन खोजेको देखिन्छ ।
अपिल
मितिः २०७८।११।१० गते
आदरणीय पत्रकार तथा मेरा दर्शकहरु महानुभावहरुमा नमस्कार ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तुतिहरुलाई यहाँहरुले अत्याधिक मन पराउनुको परिणाम स्वरुप म आज यो स्थान आईपुगेको छु ।
अझै पनि कडा संघर्षकै बिच आफुलाई यहाँहरु समक्ष उभिएको छु भन्न कत्ति पनि हिच्किचाउदिन । त्यसका बाबजुद्ध समाजलाई सकरात्मक बाटो तर्फ उन्मुख गराउने प्रकारका गतिविधी र खदिलो, दरिलो मनोञ्जनात्मक प्रस्तुतिहरु लिएर आउने प्रण पनि गर्दछु ।
तर नेपाली समाज भित्र संघर्ष गर्न अनेकन बाधा र अडचनहरु आउने रहेछ । त्यस मध्येमा कतिपय कृतिम समस्या खडा गरि एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुदा नमिठो अनुभुती भने पक्कै हुँदो रहेछ ।
विगत केहि समय यता मसंग एक जना गायिकाको नाम जोडेर केहि अनलाईन संचार माध्यमहरुमा “रियल हिरो कि प्ले ˗ब्वाई῎भन्ने जस्ता शिर्षक, मेरो अन्य महिला साथीहरुकोे मञ्जुरी र अनुमति वेगर निजहरुको समेत तस्विर राखी बनाईएको रिर्पोट र
अन्य विभिन्न भ्रामक शिर्षक राखी आपत्तिजनक शब्दहरु प्रयोग गरी तथ्यविहिन लाल्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यवसायिक एंव व्यक्तिगत जिवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागरण गर्ने मनसायसाथ यो अपिल जारी गरेको छु ।
नेपालको संविधानले पुर्ण प्रेस स्वतन्त्रताको प्रत्यभुति गरेको हुँदा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली संचार जगत स्वतन्त्र रहेकोमा विवाद छैन । विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणी भुमिका खेलेको गौरवमय इतिहास छ ।
तर यस्तो इतिहास बोकेको प्रेस जगतका केहि संचार माध्यम एकांकी र गैरजिम्मेवार भएको पाउँदा मलाई दुखि तुल्याएको छ । म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाई राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु ।
एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिवेटीको नाम र तस्विर समेत सार्वजनिक गर्दै म संग हुदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन ।
आम संचार माध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरुको ब्यक्तिगत जिवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमान समेत गर्न सकिदैन । उनीहरुको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरुले नेपाली प्रेस जगतको श्रीबृद्धिमा पक्कै पनि सहयोग गर्दैन ।
अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ ।
यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी ९व्यवसायीक प्रतिस्पर्धि० ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।
मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ति सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता ब्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।
अन्तमाः तपाईहरुको अगाध माया र प्ररेणाले मलाई सत्य र निष्ठाको मार्गबाट कहिले पनि बिचलित हुन दिने छैन र विचलित समेत हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु । 🙏
अभिनेता
पल शाह

