त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको जहाज अवतरण गरेको छ । उताका कूटनीतिज्ञलाई लिएर जहाज काठमाडौं आएको जनाइएको छ ।
‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले बताए ।
(अपडेट) केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्यो
थाइल्याण्डको राजधानी बैंकक हुँदै काठमाडौं आएको अमेरिकी सेनाको ठूलो जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको छ । ‘डिप्लोम्याटिक पार्सल’ बोकेर आएको भनिएको उक्त विमान र अन्य विवरण सबै गोप्य राखिएको छ ।
विमानमा यात्रु नभए पनि चालक दलका सदस्यहरुको संख्या १७ जना रहेको बताइन्छ । उक्त विमान र उडानको बारेमा नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसमक्ष राखिएको जिज्ञासामा ‘यस्तो उडान बेलाबखत हुने’ गरेको बताए ।
कहिले कूटनीतिक निकायको सामान ल्याउने,कहिले स्वास्थ्य उपकरण र कहिले विभिन्न उध्दसरको नाममा हुने यस्ता उडान नियमित भएको प्राधिकरणको दाबी छ ।
गत फागुन १५ गते प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पास भएपछि नेपालमा सैनिक आउने चर्चा बढेको थियो । यही बीचमा विवरण गोप्य राखिदा यो घटना रहस्यमय बनेको छ ।

