नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीे का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री माधवकुमार नेपालले वृद्धभत्ताको सुरुवात आफूले गरेको बताएका छन् । यसको जस एमालेलाई मात्रै दिने गरिएकोतर्फ स्मरण गराउँदै गोरखा पुगेका नेपालले भनेका छन्—
‘यहाँ त जुन जोगी आएपनि कानै चिरेका भन्ने आशयबाट कुराकानीहरू हुन्छन्, कोही त काम गर्नेहरू पनि रहेछन् भनेर भन्नुपर्ने हो । वृद्धभत्ताको सुरुवात गर्ने नेता मै हुँ ।
त्यतिबेला मनमोहनजी प्रधान मन्त्री हुनुहुन्थ्यो, म उपप्रधान मन्त्रीस पार्टीको तर्फबाट नेता म थिए । त्यसबेला मैले सुरुवात गरेको हुँ । स्याबास भन्नुपर्ने होइन त ? खै यता त बिर्सिएछन् त ।’
‘आफ्नो गाउँ आफैँ बनाउँ’ भन्ने योजना पनि आफैँले अगाडि सारेको स्मरण नेपालले गराएका छन् । ‘त्यत्तिमात्रै होइन, विदुवभत्ता, सुत्केरीभत्ता पनि मैले नै सुरुवात गरेको हुँ । अनि कसैले केही गर्दैनन् भन्ने ? कोही त गर्ने पनि रहेछन् भनेर भन्नुपर्यो,’ नेपालले भनेका छन् ।
आफूले स्मरण मात्रै गराएको नेपालको स्पष्टीकरण छ, भनेका छन्— ‘मैले खालि स्मरण मात्रै गराएको हुँ । यत्रो काम गर्ने म आफैँ यहाँ आएको छु, वास्तै छैन त ।’ यस्तै छुट्टै प्रसङ्गमा नेपालले अब राजनीतिक सुदृढिकरणका लागि आफ्नो दलको विकल्प नरहेको बताएका छन् ।

