अमेरिकी वायुसेनाको कार्गो सामान बोक्ने ठूलो जहाज अबको केही दिन नियमितजसो काठमाडौं ओर्लने क्रममा आज कूटनीतिक ३३ वटा पार्सल छाडेर फर्किएको छ ।
आज बिहान उक्त जहाज थाइल्याण्डको राजधानी बैंकक हुँदै काठमाडौं आएको हो । उक्त जहाज बिहान सवा नौ ९ बजे अवतरण गरेर केही बेरमै फर्केको हो । ‘डिप्लोम्याटिक पार्सल’ बोकेर आएको भनिएको उक्त विमान र अन्य विवरण गोप्य राखिएको छ ।
युएस एअरफोर्सको आरसीएच १८१६ कल साइन भएको आजको चार्टर उडानमा यात्रु नभए पनि चालक दलका सदस्यहरुको संख्या १७ जना रहेको बताइन्छ ।
आज उडानबाट अमेरिकी दूतावासको ३३ वटा प्याकेज झारिएको थियो । ती सबैको तौल १२ सय केजी भएको भन्सार कार्यालय स्रोतले बतायो । विमानबाट सामान झार्नेबित्तिक्कै दूतावासका प्रतिनिधिले बुझेर लगेका थिए ।
उक्त विमानले अरु केही दिन नियमित रुपमा नेपालमा त्यस्तो सामान ल्याउने विमानस्थलमा खटिएका नेपाल वायुसेवा निगमका एक जना कर्मचारीले बताए ।

