एमाले प्रवेशको तयारीमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । सिंहलाई एमाले प्रवेश गराउनका लागि ८ चैतमा कार्यक्रम राखिएको थियो । त्यसको एक दिनअघि ७ चैतमै उनी जसपामा प्रवेश गर्न थालेका हुन् ।
एमालेले जसपाका नेता तथा वीरगञ्जका मेयर विजय सरावगीलाई २८ फागुनमा प्रवेश गराएपछि सिंह बिच्किएका थिए । एमालेबाट मेयरको टिकट पाउने गरी सिंहको प्रवेश गर्ने तयारी भइरहेको थियो ।
त्यसैआधारमा अध्यक्ष केपी ओलीसँग छलफल पनि भएको थियो । तर, एमालेले मेयर सरावगीलाई पुनः मेयरको टिकट दिने गरी प्रवेश गराएपछि सिंहले एमालेमा प्रवेश नगर्ने निष्कर्ष निकालेका हुन् ।
सिंहले ७ चैतमा जसपा प्रवेश गर्न लागेको बताए । उनले भने ‘७ चैतमा वीरगञ्जमा एक कार्यक्रमकाबीच जसपा प्रवेश गर्दैछु । अहिले त्यसैको तयारी भइरहेको छ ।’
एमाले प्रवेशका लागि सुरुमा १४ फागुनमा कार्यक्रम गर्ने भनिएको थियो । त्यसको तयारीका लागि ११ फागुनमा अध्यक्ष केपी ओलीको सचिवालयले पार्टीको जिल्ला तहमा फोन पनि गरेको थियो । तर, तयारी पूरा नभएको भन्दै २१ फागुनका लागि सारियो ।
त्यसदिन पनि नभएपछि २६ फागुनमा सिंहलाई प्रवेश गराउने भनियो । २६ फागुनमा पनि नभएपछि ८ चैतका लागि प्रवेश कार्यक्रम तय भएको थियो । त्यही बीचमा मेयरमा टिकट दिलाउने सर्तसहित मेयर सरावगीलाई २८ फागुनमा एमाले प्रवेश गराइयो । त्यही घटनाका कारण आफू एमालेमा प्रवेश गर्न नचाहेको सिंहले बताए ।
सरावगीलाई एमालेमा ल्याउनका लागि बसुरुद्धिन अन्सारीको भूमिका प्रमुख छ । एमाले प्रवेशको तयारीमा रहेका लोसपाका सांसद विमल श्रीवास्तवले पनि सरावगीलाई एमाले प्रवेश गराउने भूमिका खेलेको वीरगञ्जमा चर्चा गरिन्छ ।
०७४ को स्थानीय तहको चुनावमा तत्कालीन राजपाबाट मेयरको उम्मेदवार भएका सिंह तेस्रो भएका थिए । करिब १२ हजार मत ल्याएका सिंह वीरगञ्जमा बलियो जनमत भएका नेतामा पर्छन । अहिले महन्थ ठाकुर नेतृत्वका लोसपामा रहेका सिंहलाई ठाकुर र राजेन्द्र महतोले नरुचाएका कारण पछिल्ला दिनमा असन्तुष्ट पनि थिए । त्यसैले उनी लोसपाको विकल्प खोजिरहेका थिए ।

