नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए । चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केहि नहुने उनले बताए ।
‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’
प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्कने छन् ।
गठबन्धन जनताबाट तिरस्कृत लो भीपापी चमेराहरूको गठजोड होः एमाले सचिव रायमाझी
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गठबन्धन जनताबाट तिरस्कृत लोभीपापीको गठजोड भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “गठबन्धन पार्टीमा निराशामात्र छ । गठबन्धन भनेको जनताबाट तिरस्कृत लोभीपापीको झुन्ड हो ।
यो चमेराको गठजोड हो । स्वार्थीहरुको झुन्ड हो । सर्वोच्च अदालतसँग परमादेश फर्माइस गरेर सरकारमा आएको छ । यसले व्यवस्थापिकाको औचित्य समाप्त गर्यो, न्यायालयको शाख सखाप पार्यो । गठबन्धनले हार स्वीकार गरिसक्यो ।
अबको चुनाव जनादेश र परमादेशबीचको लडाइँ हो ।”पार्टी फुटेका बेला एमालेले ६० प्रतिशत जित्ने कुरा हावादारी होइन भन्ने पत्रकार धमलाको प्रश्नमा रायमाझीले थपे, “अहिले लाखौंको सभामा हजारौं, हजारौंको सभामा सयौंको पार्टी प्रवेश भइरहेको छ ।
दिनहुँ २ लाख मानिस एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले फुटेको होइन, चोइटिएको हो । अहिले त्यो भन्दा कति गुणा धेरै जुटेको छ ।”
गठबन्धन सरकारका कारण मुलुक टाट पल्टिन लागेको आरोप पनि उनले लगाए । उनले भने, “अहिले देशको अर्थतन्त्र ध्वस्त भएको छ । अर्को बजेट आउने बेला भैसक्यो, २० प्रतिशत पनि खर्च भएको छैन । महँगीले आकाश छोएको छ ।
यसलाई कसरी सरकार टिकाउने भन्ने मात्र ध्याउन्न छ, राष्टका लागि भिजन छैन । त्यसैले एमाले दुई तिहाइ हाराहारीमा चुनाव जित्ने तयारीका साथ चुनावमा होमिएको छ ।”

