नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् ।
उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी हुन् । शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन ।
कम्युनिष्ट पार्टीको नेतृत्व एमाले मात्रै गर्नसक्ने र माओवादी गैरराजनीतिक चरित्रको भएकाले एमाले रोजेको शर्माले बताए ।
सोमबार दाङ जिल्लामा माओवादीले गरेको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने राजीनामा दिएका थिए ।
कसैप्रतिको द्वेष र आग्रहले राजनीतिक नीति बनाउदैनौं- ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुको द्वेष वा आग्रहले आफूहरूले राजनीतिक नीति नबनाउँने बताएका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’को विमोचन गर्दै उनले भने,‘हामी कसैप्रतिको द्वेषले, कसैप्रतिको आग्रहले कुनै राजनीतिक नीति बनाउँदैनौं, अथवा यात्रा तय गर्ने गर्दैनौं ।’
गन्तव्य निर्धारण गरेर मात्र आफ्नो यात्राको प्रस्थान हुने उनले बताए ।
‘हामीले साम्यवादको गन्तव्य भनेका छौं, समाजवादको गन्तव्य भनेका छौं,’ उनले भने,‘ती कुराहरूलाई सहज ढंगबाट अहिलेका लागि समृद्ध नेपाल, सुखी नेपाली गन्तव्य भनेका छौं ।’ जस्लाई नेपालीको जनताको आंकाक्षासँग जोडेर एमालेको गन्तव्यका रूपमा लिएको उनले बताए ।

