दक्षिण एसियाली राष्ट्रहरुको भ्रमणमा निस्किएका चिनियाँ विदेश मन्त्री वाङ यी अफगानिस्तान पुगेका छन्। उनी पाकिस्तानको भ्रमण सकेर अफगानिस्तान पुगेका हुन्। यस विषयमा आधिकारिक रुपमा तालिका भने चिनियाँ तथा अफगानिस्तान सरकारले सार्वजनिक गरेको थिएनन्।
विश्वका मुस्लिम राष्ट्रहरुका विदेश मन्त्रीहरुको सम्मेलनमा सहभागि हुन विशेष निमन्त्रणा मार्फत् पाकिस्तान पुगेका उनी शुक्रवार नेपाल आउने कार्यक्रम रहेको छ। त्यसअघि अघोषित रुपमा उनी अफगानिस्तान पुगेका हुन्। अफगानिस्तानको टोलो न्यूजले त्यहाँका विदेश मन्त्रालयका सहप्रवक्ता जिया अहमदलाई उदृत गर्दै विदेश मन्त्री वाङ अफगानिस्तान पुगेको जनाएको छ।
उनी नयाँ दिल्ली पनि जान सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपि, यस विषयमा भारतीय तथा चिनियाँ विदेश मन्त्रालयले केही पनि जानकारी गराएका छैनन्।
विदेश मन्त्री वाङको अप्रत्यासित रुपमा दिल्ली भ्रमण हुन लागेको रोयटर्सले जनाएको छ। उनी शुक्रवार नै दिल्ली पुग्ने बताइएको छ। भारतीय अधिकारीलाई उदृत गर्दै रोयटर्सले समाचार प्रकाशित गरे पनि दुवै देशका विदेश मन्त्रालयले आधिकारिक रुपमा भ्रमण हुने जानकारी सार्वजनिक गरेका छैनन्। यस भ्रमण दुई वर्ष अगाडिदेखि चर्किएको सीमा विवादपछि भारतमा हुन लागेको चिनियाँ उच्चस्तरीय भ्रमण हो।
रोयटर्सले स्रोतलाई उदृत गर्दै विदेश मन्त्री वाङले भारतीय विदेशमन्त्री सुब्रमनियम जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने कार्यक्रम रहेको समाचार लेखेको छ। यद्यपि, भेटको एजेन्डा खुलाइएको छैन। तर, सो भेटमा युक्रेन मामिलाको विषयमा छलफल हुने बताइएको छ। पछिल्लो साता मात्र भारतमा अष्ट्रेलिया, बेलायत, जापान र अमेरिकी अधिकारीको भ्रमण भएको थियो। लगत्तै चिनियाँ विदेश मन्त्री जान लागेका हुन्।
विदेशमन्त्री वाङ शुक्रवार नेपाल आइपुग्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।
सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।
‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुर्याउँछ ।’
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए । ‘बैठकमा आगामी सुरक्षा चुनौती र ती चुनौतीको सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे सदस्यहरूले धारणा राख्नुभयो,’ प्रवक्ता पोखरेलले भने ।
बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ । बैठकमा गृहमन्त्री खाँणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निदेर्शन दिएका थिए । भ्रमण शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरूले कार्ययोजना बनाएको सुरक्षा प्रमुखहरूले बैठकमा बताएका थिए ।
गृहमन्त्री खाँणको अध्यक्षतामा भएको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेलसहितको सहभागिता थियो ।

