प्राकृतिक सौन्दर्यताको वरदान पाएको पोखरा वास्तवमा धेरै हिसाबले जोकोहीको मनमुटुमा बस्न सफल छ, जसरी नेपालको राष्ट्रिय खेल भलिबल आम नेपालीको मनमस्तिष्कमा बसेको छ । यी वाक्यांशमा कतिपयको सहमति वा विमति पनि होला, राख्न पाइन्छ । तर पोखराले जसरी लोभ्याएको छ, भलिबलले नेपाली खेलकुदको फराकिलो क्षितिजमा आफुलाई लोकप्रियताको शिखर चुमेर प्रमाणित गरिदिएको छ । भनौं, एकदशक यता भलिबल लोकप्रियताको सर्वोच्च शिखरमा उभिएको छ । शिखर चढ्न जति कठिन छ, त्यही उभिरहन त्योभन्दा कठिन छ । भलिबल अनवरत लोकप्रिय छ । पल्सर स्पोर्ट्स अवार्डका सम्बन्धमा मतैक्यता नहोला । कतिपय कुण्ठित आत्मा पनि छन्, जसले प्रशंसाका शब्द खर्चिन कन्जुस्याईं गर्छन् । तर, सत्य यही हो कि सिंगो नेपाली खेलकुदले गर्व गर्ने प्रतिष्ठित कार्यक्रम पल्सर स्पोर्ट्स अवार्ड मात्र हो ।
रिलका हिरोहरुका लागि दर्जनौं अवार्ड छन् नेपालमा, तर रियल हिरो(खेलाडी)का लागि पल्सर स्पोर्ट्स अवार्ड एकमात्र हो । त्यसैले यस अवार्डमा मनोनयन मात्र हुनु पनि खेलाडीका लागि गौरवको बिषय बन्ने गर्छ । यसबर्ष पनि अवार्ड पोल्टामा पार्न नसकेपनि बास्केटबल क्विन सदिना श्रेष्ठले फेसबुक वालमा लेखिन्–‘मेरा लागि मनोनयनमा पर्नु नै ठुलो कुरा थियो, जित्ने सबैलाई बधाई ।’ सदिना खेल पत्रकारमाझ रुचाइएकी पात्र हुन् । सदिनाको खेल प्रतिभा प्रमुख कारण नै हो, यसका अलावा उनको खेल संस्कार, बोली, भाषा, शैली र व्यवहार पनि अन्य कारण हुन् । आफ्नो पराजयमा पनि खेलकुदको भावना पोख्ने गज्जबको शैली देखिन्छ । सदिना मात्र हैन, गौरिका सिंह, आयशा शाक्य, सन्तोषी श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ लगायत सबै स्टार खेलाडीहरुका लागि पल्सर स्पोर्ट्स अवार्ड जहिल्यै व्यग्र प्रतिक्षाको घडी बन्ने गर्दछ ।
यी सबै स्टार खेलाडीका लागि एउटा भव्य र साझा मञ्च हो, पल्सर स्पोर्ट्स अवार्ड । त्यही अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधा छ । जसको नाम केही अघिसम्म पपुलर प्लेयर(लोकप्रिय) अवार्ड थियो । लोकप्रियताको कसी मापन गर्ने सम्बन्धमा केही जनगुनासो देखिएपछि सम्भवतः पिपुल च्वाईस(नागरिक छनोट) अवार्ड नामाकरण गरिएको हो । वास्तवमै नागरिकको भोटले जित्ने अवार्ड नै पिपल्स च्वाइस अवार्ड । यसमा पछिल्लो समय केही परिमार्जित गरिएको छ । यस अवार्डमा भलिबलले ६ पटक बाजी मारिसकेको छ । संयोग भलिबलको कोर्ट(प्लेइङ सेट)मा पनि ६ जना खेलाडी हुन्छन् । भलिबल यति भाग्यमानी बनिसकेको छ, कोर्टमा उत्रने जुनसुकै पोजिसनका ६ जना खेलाडी यो उपाधिबाट बिभुषित भइसके ।
त्यसैले त भन्न सकिन्छ, भलिबल वास्तवमै रैथाने खेल हो । शुद्ध अर्गानिक । नेपालको भुबनोट हेर्दा नेपालको माटो सुहाउँदो खेल भलिबल हो । हिमाल, पहाड, तराई जुनसुकै भुभागमा खेल्न सकिने भएकै कारण यो नेपालका लागि प्राथमिकीकरण गरिएको खेल हो । नेपाली माटोको सुगन्ध पाइन्छ भलिबलमा । नेपाली खेलकुद इतिहासका सर्वाधिक सफल मानिने सदस्यसचिव शरदचन्द्र शाहले सामाजिक एकता र सामुहिकताको भावना जागृत गर्न भलिबलमै जोड दिएका थिए । उनले सिमित खेलमा फोकस गरेका थिए, त्यसमा सामुहिक खेल भलिबल थियो । भलै त्यतिबेला नेपालले भलिबलमा उल्लेख्य प्रगति गर्न चुक्यो । कारण नेतृत्व तहको भरोसा गुम्दै गयो । भलिबलमा सन्नाटा छायो, ठुलै आँधी हुरी आउनुअघिको जस्तै ।
पुर्वजहरुले रोपेको बिउ फल्न यसरी सुरु गर्यो, हुरहुरी देखिन थाल्यो । पछिल्लो समय नेपालको महिला भलिबलले लय समात्यो । मनोरञ्जनरमण शर्माको नेतृत्वमा याम गुरुङ, निरोज मास्के, रञ्जन खड्का, जितेन्द्रबहादुर चन्दलगायत सक्रिय भलिबलकर्मीको उर्जामा भलिबलले छलाङ मारिदियो । दश बर्षे ‘माओवादी विद्रोह’का बेला हिमाल र पहाडका कुना कन्दरा तथा तराईका समतल फाँटका बस्तीहरुमा युद्धका कथा बुन्दै हिंडेका दलजित श्रीपाइली प्रशान्तले भलिबललाई जति नजिकबाट नियालेका थिए, सदस्यसचिव केशव बिष्ट उत्तिकै जानकार थिए । युवा तथा खेलकुदमन्त्री श्रीपाइलीको राष्ट्रिय खेल निर्क्यौल गर्ने प्रस्ताव तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदबाट सदर गराइदिए । यसले भलिबल परिवार यति उत्साहित बन्यो, उनीहरुले भलिबललाई गति दिने सवालमा कुनै कसर बाँकी राखेनन् । हरेक देशको आफ्नो राष्ट्रिय खेल हुन्छ, नेपालको थिएन ।
मन्त्री श्रीपाइली यसमानेमा सम्झिइने नाम बन्यो, जसले राष्ट्रिय खेल आधिकारिता दिलाए । त्यसैको नरिन्तरताका रुपमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा भलिबललाई राष्ट्रिय खेलकुदका रुपमा समावेश गरिनु भलिबल परिवारको सम्मानका रुपमा लिनुपर्दछ । यो सत्य हो की एक समय भलिबल नेपालको सबै भन्दा लोकप्रिय खेल थियो । सानो ठाँउमा खेल्न सकिने, सबैले बुझ्ने र कम खर्चिलो भएकै कारण पनि भलिबल लोकप्रिय थियो भन्ने बुझ्न गाह्रो छैन । भौगोलिक बनोट वा विकटता पनि भलिबल लोकप्रिय हुनुको अर्को कारण थियो । त्यसैले पनि होला भलिबललाई नेपालको माटो सुहाउँदो खेलको रुपमा व्यख्या गरिन्थ्यो, जुन ब्याख्या सहि थियो पनि ।