यसपटक प्रतियोगिता मिति तय गरियो र प्रतियोगिता शैलीको प्रारम्भिक खाका पनि । दुई वर्षअघि ७ प्रदेशका टोली रहेर होम एन्ड अवे पद्दतिमा गर्ने भनिएको वृहत लिग यसपटक भने खुम्चिएर ६ टोली सम्मिलित २ साताको प्रतियोगितामा सिमित भयो । दुई वर्षअघि नेपालको वैकल्पिक लिगको रुपमा आफूलाई उभ्याउने रणनीति बुनेको प्रतियोगिताले अहिले आउँदा भने सामान्य प्रतियोगिताको झल्को दिएको छ, र त्यसमा पनि अनेक बाधा अड्चन सहित । प्रतियोगिता सुरु हुन ७ साता बाँकी रहँदासम्म पनि प्रतियोगिता खेल्ने खेलाडी र ती खेलाडी आबद्ध क्लब यसबारे अनभिज्ञ छन् । सुपर लिगको आयोजक एनएसइएमले एन्फाले सम्पूर्ण प्राविधिक पक्ष हेर्ने बताइरहँदा एन्फाले भने यस विषयमा गम्भीर भएर अघि बढिरहेको छैन ।
खेलाडी अनुबन्ध प्रतियोगिताको मुख्य पाटो हो । फ्रेन्चाइज लिगमा नयाँ टोली रहने हुनाले साविक क्लबमा खेलिरहेका खेलाडीले सुपर लिग खेल्न पुरानो क्लब छाड्नुपर्ने हुन्छ अथवा लोनमा जानुपर्ने हुन्छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एक साताअघि आयोजित पत्रकार सम्मेलनमा सुपर लिग आयोजना हुने समयमा ट्रान्सफर विन्डो खुल्ला हुने र त्यसबेला खेलाडी फ्री एजेन्ट हुने भएकाले फ्रेन्चाइज लिगमा अनुबन्ध हुने बताए । तर एन्फा अध्यक्ष शेर्पाले यसो भनिरहँदा विभागीय टोलीमा रहेका खेलाडीलाई भने नियम लागु हुँदैन । प्राइभेट क्लबमा नै पनि कतिपय खेलाडीले लामो सम्झौता गरेको अवस्था छ । यस्तो अवस्थामा भने अध्यक्ष शेर्पाले भनेजस्तो खेलाडी फ्री एजेन्ट हुँदैनन् । खेलाडी अनुबन्ध गर्ने सुरुवाती र सबैभन्दा महत्त्वपूर्ण पक्ष नै हालसम्म प्रष्ट हुन सकेको छैन ।
नेपाल सुपर लिगका सिइओ सुदीप शर्माका अनुसार एन्फाले लिगमा सबै खेलाडी उपलब्ध हुने ग्यारेन्टी दिएको छ । उनका अनुसार एन्फाले नै लिगमा सहभागी हुने नेपाली खेलाडीको वर्गीकरण गर्नेछ र आवश्यक स्वीकृति उपलब्ध गराउनेछ । तर चैत पहिलो साता हुने तयारी रहेको लिगको खेलाडी छनोट कार्यक्रम आउन ३ साता बाँकी रहँदा न खेलाडी यसबारे जानकार छन् न त उनीहरु अनुबन्धित क्लब नै । ‘हामीले खेलाडीबारे सबै जिम्मेवारी एन्फालाई दिएका छौं । खेलाडी वर्गीकरण पनि वहाँहरुले नै गर्नुहुन्छ । हामीले व्यवस्थापन र आयोजनाको पाटो हेर्ने हो । वहाँहरुले सबै खेलाडी उपलब्ध हुने भन्नुभएको छ,’ उनले थपे, ‘हाम्रो लिगमा नेपालका सबै खेलाडी खेल्ने तयारी छ । लिगको महत्त्वका लागि पनि खेलाडीहरुको उपस्थिति चाहिन्छ ।’
दुई वर्षअघि ७ प्रदेशबाट ७ टोली हुने भनिएपनि हाल सहरमा आधारित रहेर ६ टोली निर्माण हुने भएका छन् । एकै प्रदेशका दुई सहर पनि हुन सक्ने शर्माले जानकारी दिए । सिंगल राउन्डको लिगमा सबै टोलीले ५-५ खेल खेल्नेछन् । हरेक टोलीमा २० खेलाडी रहनेछन् भने अहिलेसम्म २ वा ३ विदेशी खेलाडी राख्ने तयारी भइरहेको छ । सिइओ शर्माले दुई वर्ष घोषणा गरेजस्तो वृहत लिग गर्न सम्भव नभएपछि अहिले सुरुवातको रुपमा यो लिग संचालन गर्न लागिएको बताए । ‘दुई वर्षअघि हामीले ७ प्रदेशका टोलीसहित होम एन्ड अवे पद्दतिमा लिग गर्ने भनेका थियौं । समय घर्कियो र कोरोनाले हाम्रो तयारी पनि अघि बढ्न सकेन । अहिले सुरुवातको रुपमा सानो स्वरूपमा भएपनि प्रतियोगिता गर्न लागेका हौं । आउने दिनमा यसलाई नै परिस्कृत गर्दै अघि लैजाने योजना छ ।’
‘खेलाडी सहभागिता, पुरस्कार रकम लगायत अन्य पक्षमा केहि परिवर्तन गर्ने छैनौं । हामीले नेपालमा भएको अन्य प्रतियोगिताभन्दा फरक गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि सारेका हौं । अहिलेलाई व्यावसायिक भन्दापनि हामीले फुटबल विकास प्राथमिकतामा राखेका छौं । क्विक्सको नाममा अघिल्लो साल पनि विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्दा एन्फालाई सहयोग गरेका थियौं । प्रतियोगिता नाफा-घाटा जे भएपनि हामी एन्फालाई सहयोग गर्नेछौं,’ शर्माले प्रष्ट पारे । सुपर लिगको फ्रेन्चाइज र टिम मालिकबारे अर्को साता विस्तृत विवरण सार्वजनिक गर्ने आयोजकको तयारी रहेको छ । त्यसको दुई सातापछि ड्राफ्ट वा अक्सनमार्फत खेलाडी छनोट हुनेछन् । पहिलो संस्करण भएको हुँदा टोली सन्तुलित होस् भन्ने हिसाबले ड्राफ्टबाट नै खेलाडी छनोट गर्ने सम्भावना छ । एन्फाले क्लब र खेलाडीसँग समन्वय गरेपछि यकिन भन्न सकिने शर्माले बताए ।
सुपर लिग आयोजकले यसो भनिरहँदा एन्फाले भने यस विषयमा कुनै कदम अघि चालेको देखिदैन । हालसम्म क्लबलाई पनि यसबारे औपचारिक जानकारी दिइएको छैन । वैशाखमा हुने प्रतियोगिताका लागि एकातर्फ आयोजक आफ्नो पक्षबाट अघि बढ्दा एन्फाले भने आफ्नो पक्षबाट सामान्य प्रक्रिया अघि बढाएको छैन । एन्फाका लिग समितिका निर्देशक संजीव मिश्रले यसबारे क्लब र खेलाडीसँग छलफल गर्न बाँकी रहेको स्वीकारे । उनले यस प्रक्रियामा केहि ढिला भएको पनि स्वीकार गरे । प्रतियोगिता तय भएको मितिले झन्डै दुई साताअघि खेलाडीलाई प्रशिक्षण गराउने तयारी फ्रेन्चाइजहरुले गरेका छन् । तर त्यस समयमा मोफसलको प्रतियोगिता हुने सम्भावना त छ नै, त्यसबाहेक नेपालको प्रतिनिधित्व गर्दै त्रिभुवन आर्मी क्लबले एएफसी कपको प्लेअफ चरणका खेल पनि खेल्दैछ । यस्तोमा आर्मीले आफ्ना खेलाडीलाई छोड्ने सम्भावना पक्कै रहँदैन ।
राष्ट्रिय टोली विश्वकप छनोटका लागि तयारी गर्दा आर्मीका ९ खेलाडी टोलीमा परेका थिए । यी सबै खेलाडी उपलब्ध नहुँदा लिगको स्वाद पक्कै कम हुन्छ । अझ पुलिस र एपिएफ जस्ता विभागीय टोलीका खेलाडी पनि नहुने हो भने सुपर लिगको गरिमा पक्कै घट्नेछ । सुपर लिगका सिइओ शर्मा पनि नेपालकै स्टार खेलाडी नै नहुने भन्ने सोच नै नरहेको बताउँछन् । हाल राष्ट्रिय टोलीका उपकप्तान रहेका त्रिभुवन आर्मी क्लबका फरवार्ड भरत खवासले आफू सुपर लिग खेल्न उत्साहित रहेको बताए । तर आर्मीले एएफसी कपमा सहभागिता जनाउँदा आफ्नो टोलीका खेलाडी खेल्ने वा नखेल्नेबारे भने केहि प्रष्ट नरहेको उनले सुनाए । ‘हामी अप्रिल ७ मा एएफसी कप प्लेअफको पहिलो खेल खेल्दैछौं । त्यसपछि अर्को चरणका दुई खेल अर्को साता नै खेल्नुपर्छ । यसो हुँदा आर्मीका खेलाडीले सुपर लिगको तयारीमा संलग्न हुन मिल्दैन । हालसम्म हामीलाई सुपर लिगबारे केहि जानकारी आएको छैन,’ खवासले भने ।