स्थानीय तहको चुनावको मिति नजिकिंदै गर्दा राजनीतिक दलका नेताहरुको देश दौडाहा बढेको छ । चुनावी चटारोमा रहेका नेताहरु आकाशमार्ग हुँदै विभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् ।
हिजो सवेरै एमाले उपाध्यक्ष सुवास नेम्वाङ श्री एयरको उडानबाट गृहप्रदेश पूर्व पुगेर साँझ काठमाडौँ फर्किनुभएको छ । विहान ८ बजेको हाराहारीमा विराटनगर जानुभएका उहाँ बुद्ध एयरको जहंज चढेर साँझ १८:२१ बजे काठमाडौँ आइपुग्नुभएको हो।
हिजो बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट हेलिकप्टर चढेर नजिकैको टोखा जानुभएको थियो । प्रधानमन्त्रीलाई टोखा पुर्याउन बिहान पौने ९ बजे नेपाली सेनाको हेलिकप्टर बालुवाटारमा अवतरण गरेको थियो ।
सेनाको हेलिकप्टर चढेर टोखा जानुभएका प्रधानमन्त्री देउवा बिहान ११:२० बजे सोही जहाजबाट बालुवाटार फर्किनुभयो ।
हिजै सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने जनकपुरबाट बुद्ध एअरको जहाज चढेर काठमाडौँ फर्किनुभएको थियो । उहाँ बुद्धको जहाजबाट बिहान ९:५ बजे जनकपुरबाट उड्नु भएको थियो ।
बुद्धकै जहाजबाट पूर्वमन्त्री तथा एमाले सचिव पद्मा अर्याल काठमाडौँबाट पोखरा उड्नुभएको थियो भने काँग्रेस नेता देवेन्द्र राज कँडेल भैरहवाबाट काठमाडौँका लागि निस्कनुभएको थियो ।

