नेकपा एमाले र माओवादी केन्द्रले चीनसँग बिआरआई लगायतका परियोजना कार्यान्वयन गर्न माग गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त माग गरेका हुन्। आइतबार चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यीसँगको छुट्टाछुट्टै भेटका क्रममा नेता ओली र प्रचण्डले उक्त माग गरेका हुन्।
भेटका क्रममा ओलीले बीआरआई अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजना अगाडि बढाउन चीनसँग आग्रह गरे।
नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटका क्रममा उक्त आग्रह गरेका हुन्।
भेटका क्रममा अध्यक्ष ओलीले बिआरआईसँग जोडिएका आयोजना तत्काल अघि बढाउन आग्रह गरे। भेटमा बिआरआईअन्तर्गतका सडक, सिँचाइ, रेल, जलविद्युत् र सीमानाका बनाउने कुरामा छलफल भएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा। राजन भट्टराईले जानकारी दिए।
उनले भेटमा अध्यक्ष ओलीले कोरोनाको महामारीपछि बन्द भएका नेपालसँगका नाकाहरू खोल्न, कोभिडका कारण चीनबाट फर्किएका त्यहाँ अध्ययनरत विद्यार्थीलाई लैजान र हुम्ला पारी अलपत्र परेका करिब ५ सय नेपालीलाई नेपाल आउने व्यवस्था मिलाइदिन पनि आग्रह गरेको बताए।
विभाग प्रमुख भट्टराईले भने, ‘द्विपक्षीय विषयका थुप्रै विषयबारे छलफल भयो। अहिले बिआरआईसँग जोडिएका आयोजना अघि बढाउनुपर्यो भनेर शुरु गरेका छौँ। छिटोभन्दा छिटो कम्प्लिट गर्नुपर्छ। कोरोनो महामारीपछि बन्द भएका नाका खुल्नुपर्यो। त्यसैगरी चीनमा अध्ययनरत विद्यार्थीलाई छिटोभन्दा छिटो लगेर उनीहरूको अध्ययन सुचारु गरियोस् भन्ने हो।’
विभाग प्रमुख भट्टराईले छलफलमा चीनले नेपालसँग गरेको सहमति र सम्झौता पुरानै प्रतिबद्धताअनुसार नै अघि बढाउने विदेशमन्त्री वाङले जानकारी दिएको बताए।
यसैगरी माओवादी केन्द्रले दुई देशबीचको व्यापार घाटा सन्तुलित बनाउन व्यापार नाकाहरुलाई नियमित गर्न प्रयास बढाउनुपर्ने विषय राखेको माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए। उनले भने, ‘हाम्रो पार्टीका तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध र दुई पार्टीबीचका सम्बन्धबारे चर्चा भयो।
कोभिडको महामारीमा चीनको तर्फबाट गरिएको सहयोग, नेपालको पूर्वाधार निर्माण विकास प्रयासमा चीनबाट गरिएका सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्ने कुरा भएको भट्टराईले बताए।
बस्नेतले बिआरआई कार्यान्वयन, दुई देशबीचको सन्तुलित व्यापार, व्यापार नाकाहरुलाई नियमित गर्ने, सहजीकरण गर्ने र त्यसलाई सन्तुलित गर्नका निम्ति प्रयास बढाउनेबारे प्रचण्ड र चिनियाँ पक्षबीच वार्ता भएको जानकारी दिए।
नेपालमा चीनविरोधी गतिविधि हुन नदिन माओवादी केन्द्रले आवश्यक भूमिका निर्वाह गर्ने बताएको छ। नेपालका सबै राजनीतिक दलहरूसँग चीनको सम्बन्ध सुदृढ हुँदै गएको कुरा चिनियाँ पक्षले राखेको उनले बताए। चिनियाँ विदेशमन्त्रीले चीन र नेपालबीचको सम्बन्ध छिमेकीको रूपमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको नेता बस्नेतले बताए।
यसअघि मन्त्री वाङले शनिबार परराष्ट्रमन्त्री डा। नारायण खड्का, प्रधानमन्त्री शेरबहादुर देउवा र आज ९आइतबार० बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।