नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् ।
आइतबार काठमाडौँमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको छ भने एमाले भुईँमा पछारिएको पनि दाबी गरेका छन् ।
उनले सुदूरपश्चिमसहित मधेश प्रदेश र कर्णाली प्रदेशमा पनि आफूहरू एमालेभन्दा अगाडि रहेको उनको भनाइ छ । अध्यक्ष नेपालले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए ।
आन्दोलनको रक्षा गर्न र पार्टीको क्रान्तिकारी धारलाई तिखो बनाउनका लागि जनताले हौसला प्रदान गरेकोसमेत उनले बताए ।
माधव नेपालले भने– ओलीले निलम्बित प्रधानन्यायाधीशसँग गोप्य छलफल गरी संसद् विघटन गरे
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बसेर संसद् विघटनलगायतको योजना बनाएको दाबी गरेका छन् ।
पार्टीनिकट समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठकमा अध्यक्ष नेपालले ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बंकर नै बनाएर निलम्बित प्रधानन्यायाधीश जबरासँग बालुवाटार बङ्करमा बारम्बार भेट गरेको बताए ।
अध्यक्ष नेपालले संसद् विघटन गर्ने पहिलेदेखि सोचेका ओलीले संसद् विघटनदेखि विभिन्न षड्यन्त्रको योजना बनाएको दाबी गरे।
ओलीले राष्ट्रपति, निलम्बित प्रधानन्यायाधीश र तत्कालीन प्रधानसेनापतिसँग बारम्बार भेट्दै संसद् विघटनलगायतको षड्यन्त्र गरेको पनि उनले आरोप लगाए ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको अहंकार सत्तामा पुगेपछि बढ्दै गएको र उनी कम्युनिष्टहरूको आवरणमा तानाशाहीसमेत आरोप लगाएका थिए ।