सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शुक्रबार (चैत ६ गते) बाट सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा चैत २० गतेसम्म बिक्री खुला रहनेछ । सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ ।
लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।
रेटिङ क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिंगटीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले निष्काशनकर्ता कम्पनी वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम जोखिममा रहेको आधार जनाउँछ । यो रेटिङ सन् २०२१ अक्टुबर १५ सम्म बाहल रहनेछ ।
कति कित्ताका लागि दिने आवेदन ? पछिल्ला दिनहरुमा आइपीओमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ । आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले पनि नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ । हालै मात्र निष्कासन भएको ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका थिए । जुन हालसम्मकै उच्च हो ।
पछिल्ला आइपीओमा परेको आवेदनलाई आधार मान्ने हो भने सिंगटीको सेयर पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिन्छ । सिंगटीले सर्वसाधारका लागि २६ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । उक्त आइपीओलाई न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा २ लाख २ लाख ६४ हजार जना लगानीकर्ताले मात्र आइपीओ हात पार्ने देखिन्छ ।
यसआधारमा सिंगटीको आइपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ । विगतका आइपीओमा परेको आवेदनलाई हेरेर मात्र यो अनुमान गरिएको हो । तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन ।
आयोजना सम्बन्धी विवरण सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६७ साल जेठ ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७५ असार ६ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर कारोबार सञ्चालन गर्दै आएको छ । कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०७२ माघ २० गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २१०७ पुस २९ गतेसम्म बाहल रहनेछ ।
सिंगटीले २५ मेगावाट क्षमताको ‘सिंगटी खोला जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. ३ स्थित सिंगटी बजार नजिक रहेको छ । यसको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रुपैयाँ अनुमान गरिएको छ ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण सिंगटीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी १ अर्ब ४५ करोड रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीबाट १ अर्ब १ करोड ५० लाख रुपैयाँ चुक्ता भइसकेको छ । यस्तै, गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।
सर्वसाधारणलाई जारी हुन लागेको आइपीओ सबै बिक्री भएमा सिंगटीको चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । साथै, कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७०%, स्थानीयको १०% र सर्वसाधारणको २०% कायम हुनेछ । सिंगटीले आर्थिक वर्ष २०७९–८० सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन ।
उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने पुँजी नै यथावत रहेनछ । वित्तीय प्रक्षेपण अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म सिंगटीको खुद नाफा ११ करोड ६३ लाख ८० हजार रुपैयाँ पुग्ने देखिन्छ । आर्थिक वर्ष २०७८–७९ मा २४ करोड ९२ लाख रुपैयाँ र आव २०७९–८० मा ४१ करोड १८ लाख १८ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण छ ।
यस्तै, चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा पुग्नेछ । आर्थिक वर्ष २०७८–७९ सम्ममा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १६ पैसा पुग्नेछ । साथै, प्रतिसेयर नेटवर्थ पनि ११७ रुपैयाँ १९ पैसा हुनेछ ।
आधारभूत सेयरधनीहरु यस हाइड्रोपावरमा सबैभन्दा ठूलो हिस्सा आर सी हाइड्रो इन्भेष्टमेन्टको रहेको छ । यसले कुल ८ लाख ५६ हजार ५०० कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, बटु लामिछानेको ८ लाख ३१ हजार ४५५ कित्ता र गणेश कार्कीको ६ लाख ३६ हजार ४५५ कित्ता सेयर स्वामित्व रहेको छ । गणेश कार्कीले हाल सिंगटी हाइड्रोको कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत रहेका छन् । यस हाइड्रोमा कुल आधारभूत सेयरधनीको संख्या १५ रहेको छ ।