नेपालको सार्वभौमसत्ता र राष्ट्रिय गौरव रक्षाका लागि चीनले सहयोग जारी राख्ने चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन्।
तीनदिने नेपाल भ्रमण सकेर आइतबार बेलुका स्वदेश फर्किएका विदेशमन्त्री वाङले भ्रमणको अन्तिम दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा नेपालमा सामाजिक तथा राजनीतिक स्थायित्वको कामना रहेको बताए।
उनले नेपालको सार्वभौमसत्ता रक्षाका लागि सहयोग गर्ने बताउँदै नेपाल सुहाउँदो विकासका लागि चिनियाँ सहयोग निरन्तर हुने उल्लेख गरेको सिन्ह्वाले जनाएको छ।
दुवै देशले सहकार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउँदै वाङले यसलाई थप बलियो बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। नेपालको आन्तरिक मामिलामा दख्खल नदिने र मैत्री सम्बन्धको नीतिमा अडिग रहने वाङले बताएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि अन्तर्राष्ट्रिय अवस्थामा जस्तोसुकै परिवर्तन भए पनि नेपालसँगको मैत्रीपूर्ण सम्बन्धको नीतिमा चीन कायम रहने बताएका थिए।
प्रचण्डसँगको भेटमा वाङले विश्वभर अहिले विभिन्न विवाद, तनाव र परिवर्तनहरु भइरहेको भन्दै दुवै पक्ष (नेपाल र चीन) शित यु’द्धकालीन मानसिकता यो क्षेत्रमा आउन नदिन प्रतिबद्ध भएर लाग्नुपर्ने बताएको सिन्ह्वाले उल्लेख गरेको छ।
संयुक्त रुपमा क्षेत्रीय शान्ति, स्थायित्व र विकासका लागि काम गर्नु पर्ने उनले बताएका हुन्।