नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा नेताहरूले आगामी चुनावमा कसरी जाने भन्ने विषयमा आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।
प्रदेश सभापतिहरूले आ–आफ्नो प्रदेशमा कांग्रेसको सांगठनिक संरचनाबारे ब्रिफिङ गरिरहेका छन् । यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले भने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।
व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन् ।
यसअघि शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले बैठकमा प्रवेश पाएको थियो । त्यसपछि कार्यशैली निम्छरो भएका मन्त्रीबारे नेताहरूले आफ्ना धारणा राखिरहेका छन् ।
निर्वाचन माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ हो – प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय तहको निर्वाचन माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताउनुभएको छ ।
देशमा आफूहरूले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले अहिलेको निर्वाचन अरुका लागि निर्वाचन मात्रै भए पनि आफूहरूको लागि लडाइँ भएको बताए ।
गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताए ।
अझै पनि अवसरवादी र प्रतिक्रियावादीहरूले माओवादी जनयुद्धको परिवर्तनलाई उल्टाउने षडयन्त्र गरिरहेको उनको भनाइ छ ।
माओवादीले हारे गणतन्त्र र सयौं वर्षदेखिको अत्याचारमा राखिएको वर्ग समुदायको हक अधिकार खोसिने अध्यक्ष दाहालले जिकिर गरे ।