कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणको क्रममा हिन्दूहरुको धार्मिक स्थल बनारस, काशी पनि जाने कार्यक्रम तय भएको छ । उहाँले यहि चैत १८ गतेबाट गर्ने भारत भ्रमणमा भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुहुने छ ।
आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी डा। आरजु राणा,परराष्ट्रमन्त्री नारायण खड्कालगायत केही मन्त्री,सचिव तथा सरकारी अधिकारीहरु हुनेछन् ।
प्रधानमन्त्रीले चैत १९ गते भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलसहित वार्ता गर्नुहुनेछ ।
नयाँ दिल्लीमा आयोजना गरिने विभिन्न कार्यक्रमलाई सम्बोधन र भारतीय सुरक्षा अधिकारीहरुसँगको भेटवार्तापछि उहाँ चैत २० गते काठमाडौं आउने क्रममा केहीबेर काशी जाने बताइएको छ ।
गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् ।
उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’, उनले भने ।
निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ । ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन । प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’, उनले भने ।
प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने देउवाले बताए । तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।