प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार तीन दिने औपचारिक भ्रमणमा भारत जाँदैछन्। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकसाथ भ्रमणको घोषणा गरेका छन्। आठ महिनाअघि प्रधानमन्त्री नियुक्त भएयता देउवा पहिलो पटक भारत जान लागेका हुन्।
देउवा स्थानीय चुनावको मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जाने भएका छन्। भारत सरकारका एक अधिकारीले नेपालको आउँदो चुनावलाई हेरेर प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लागेको बताए।
‘भारतले नेपालको चुनावलाई विशेष महत्वका साथ लिएको छ। अहिले देउवालाई डाकेर मोदीले चुनावबारे सल्लाह गर्न खोजेका हुन्,’ ती अधिकारीले भने।
उनका अनुसार भारत कांग्रेस र माओवादीबीच चुनावी तालमेल होस् भन्ने पक्षमा छ। वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ भने प्रदेश र संघीय संसदको चुनाव पनि अबको एक वर्षभित्र हुनेछ।
‘वामपन्थी शक्तिबीच चुनावमा तालमेल नहोस् भन्ने भारत सरकारको चाहना हो,’ ती अधिकारीले थपे। कांग्रेस र मधेशी दलबीच चुनावी तालमेल होस् भन्ने पक्षमा भारत देखिएको छ। मोदीले प्रधानमन्त्री देउवासँग हुने एकल भेटवार्तामा चुनावको विषयमा छलफल गर्नेछन्।
प्रधानमन्त्री देउवाले भ्रमणलाई भारतीय जनता पार्टी र मोदी सरकारसँग सम्बन्ध सुदृढ गर्ने अवसरका रुपमा लिन लागेको देखिन्छ। देउवाले दशैँअघि नेता प्रकाशशरण महतलाई भारत पठाएर सम्बन्ध सुधारको प्रयास थालेका थिए। त्यसअघि भाजापाका नेतालाई नेपाल पनि बोलाएका थिए। अहिले प्रधानमन्त्रीपत्नी आरजु राणा भाजपासँग निरन्तर सम्पर्कमा छिन्। डेढ महिनाअघि आरजुले नयाँ दिल्लीमा भाजपाका नेताहरुलाई भेटेकी थिइन्।
प्रधानमन्त्री देउवाको भारत भ्रमण भूराजनीतिक हिसाबले समेत महत्वपूर्ण समयमा हुन लागेको छ। पछिल्लो समयमा नेपाल मामिलामा चीन र अमेरिकाबीच टकराव देखिएको छ। गत महिना नेपाल मामिलालाई लिएर दुई मुलुकबीच भनावैरी समेत भएको थियो।
चीनको असन्तुष्टिबीच नेपालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अनुमोदन गरेपछि चीन संशकित छ। उसले अमेरिका लगायत पश्चिमा शक्ति नेपालमार्फत् आफूविरुद्ध घेराबन्दीमा उत्रिनसक्ने भन्दै सुरक्षा चासो देखाइसकेको छ।
हालै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई कसैले भूराजनीतिक चलखेलमा तान्ने कोसिस गरे चीनले प्रतिकार गर्ने चेतावनी प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई दिएका छन्।
चीन र अमेरिकाबीच नेपाल मामिलालाई लिएर टकराव भइरहँदा भारत चाहिँ मौन बस्यो। अमेरिका र नेपालबीचको मामिलामा प्रवेश गर्दा अमेरिका चिढिनसक्ने भारतीय बुझाइ थियो। किनकि अमेरिका र भारतबीच रणनीतिक सहकार्य छ। दक्षिण एसिया मामिलामा उनीहरुबीच समान धारणा बन्न थालेको छ।
प्रधानमन्त्री देउवासँग भारतीय संस्थापन सशंकित छैन।
‘तर देउवा अमेरिकासँग अझै बढी नजिकिन लागेका हुन् कि भन्ने शंका भारतमा छ। त्यसबारे भारतीय प्रधानमन्त्रीले बुझ्न सक्छन् एकल भेटमा,’ ती भारतीय अधिकारीले भने।