अन्तत ः पार्टीभित्रको अन्तरविरोध किनारा लगाउनका लागि नेकपाका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु आफ्नो राजनीतिक लाइनबाट ब्याक भएका छन् । चुनावमा भाग लिने राजनीतिक लाइनबाट ब्याक भएका विप्लवमाथि पहिलोपटक नैतिक प्रश्न पनि उठेको छ ।
केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव गरेको राजनीतिक लाइन फेल हुने निश्चित भएपछि संशोधन गर्नु नेतृत्वमाथिको अक्षमता पनि हो ।
त्यसले नैतिक प्रश्न उठाएको नेकपाका नेताहरुले टिप्पणी गरेका छन् । नेता हेमन्तप्रकाश वलीको नेतृत्वमा ४२ जना केन्द्रीय सदस्यले विप्लवको राजनीतिक लाइनको विरोध गरेका थिए । सल्लाहकार टीमको सबै सदस्य विरोधमा थिए । ६९ सदस्यीय केन्द्रीय कमिटीमा ४२ जना विपक्षमा उभिनु विप्लवको नेतृत्वमाथि गम्भीर प्रश्न थियो ।
विप्लवले अल्पमतकै लाइन भएपनि पारित गरेको भए पार्टी विभाजन चाहिं निश्चित भएको नेताहरुले बताएका छन् । उनीहरुले वलीको नेतृत्वमा कम्तीमा पनि ३० जनजाति केन्द्रीय सदस्यले विद्रोह गर्ने संभावना थियो । उनीहरु विद्रोह गरेर नयाँ पार्टी बनाई मोहन बैद्यसँग एकता गर्ने तयारी गरेका थिए । तत्काल लागि उक्त दुर्घटनाबाट विप्लवको पार्टी जोगिए पनि चुनावमा भाग लिने कार्यकर्ताहरुलाई जोगाउन भने हम्मेहम्मे पर्ने देखिएको छ ।
चुनावमा भाग लिने पक्षमा रहेका विप्लवका नेता र कार्यकर्ताहरु माओवादी केन्द्रतिर झुकाव राख्न थालिसकेको माओवादी केन्द्रका नेताहरुको भनाइ छ । तर, विप्लव र प्रकाण्ड चाहिं एमालेसँग चुनावी तालमेल गर्ने पक्षमा उभिएको शिवनगरमा नेताहरुले उल्लेख गरेका छन् । त्यसैकारण २०७८ चैत ११ गते शुक्रवार सल्लाहकार कमिटीका सदस्यहरुले पार्टीलाई एमालेकरणबाट जोगाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए ।
वलीको नेतृत्वमा धर्मेन्द्र बास्तोलासहित पार्टीको आधा हिस्सा नै बाहिरिने भएपछि विप्लवले उम्मेदवारलाई स्वतन्त्र छोडिदिने भनेर फेस सेभिङको बाटो अपनाएको बताइन्छ । अहिले विप्लवले आफ्नो राजनीतिक लाइनबाट ब्याक भएर चुनाव उपयोग गर्ने पार्टीको लाइनभन्दा पनि व्यक्तिलाई स्वतन्त्र छोडिदिने निर्णय गरेको छ ।
कपिलबस्तु, कालिकोटलगायका केही जिल्लामा नेकपाको प्रभाव भएका पालिका भने विप्लव नेतृत्वका पार्टीका नेताले स्वतन्त्र उम्मेदवारी दिनेछन् ।
पालिकामा खासगरी एमालेसँग मिलेर उनीहरु चुनावी गठबन्धनमा जाने संभावना रहेको पनि बताइन्छ । त्यसरी उम्मेदवारी दिएका नेताहरुलाई पार्टीले सहयोग गर्ने पनि निर्णय गरेको छ । यसरी दोधारे नीति पास गरेर विप्लवले प्रचण्डको लाइन लिएको पनि टिप्पणी हुन थालेको छ ।
माओवादीभित्रको अन्तरविरोधमा प्रचण्ड कहिले मोहन बैद्यको शहरी जनविद्रोहको लाइन लिन्थे कहिले बाबुराम भट्टराईको लोकतान्त्रिक गणतन्त्रको निरन्तरताकै लाइन लिने गरेका थिए । चर्चित पालुङटार प्लेनमपछि प्रचण्डले दुवै नेताको फ्युजन लाइन लिएपछि माओवादी केन्द्र विभाजनको बाटोतिर लागेको थियो ।
अन्तिममा बैद्य र बाबुराम दुवै पार्टीमा नरहने अवस्था आईपुगेको थियो । अहिले विप्लवको पार्टीभित्र पनि माओवादीको त्यही पालुङटार प्लेनमझै भएको टिप्पणी हुन थालेको छ । विप्लवको राजनीतिक लाइन फेल हुँदा नेतृत्वमाथि नैतिक संकट र प्रश्न उठेको भन्दै नेकपाका नेताहरुले टिप्पणी गरिरहेका छन् ।