नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।
टर्कीको अंकरामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका हुन् ।
मार्च २९–३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि आइतबार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेपालको १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।
यता, सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकैपटक अन्तिम सुनुवाइ गर्ने भएको छ ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ परिसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । ‘अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको छ,’ अदालतले आदेशमा लेखेको छ ।
आदेशअनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुनेछ ।
अदालतले नेपालसहित १४ सांसदलाई माथि पार्टी गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दैछ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गरेका थिए । नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमाले विगत ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

