एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ‘मार्सी’ ले भक्तपुरमा तरकारी बजार सञ्चालन गर्न लागेका छन् । सिपाडोलमा निर्मित तरकारी बजारको भोलि ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालकै सबैभन्दा ठूलो भनिएको तरकारी बजारको उद्घाटन गर्न जाँदा एमाले अध्यक्षलाई उहाँको रुचिअनुसार मोटरसाइकलबाट महेश बस्नेतको टोलीले एस्कर्टिङ गर्ने योजना छ । एमाले भक्तपुरले जारी गरेको सूचनामा भोलि बिहान पार्टी कार्यालय,सूर्यविनायकमा भेला भएर ओलीको निवास बालकोटदेखि तरकारी बजारसम्म बृहत मोटरसाइकल एस्कर्टिङ गरिने भएकाले पार्टीका सबैलाई मोटरसाइकल लिएर आउन अनुरोध गरिएको छ ।
‘सूर्यविनायक हरित कृषि थोक बजार’ नामक कृषिबजार सूर्यविनायक नगरपालिका–८ आदर्श सिपाडोलमा छ । भक्तपुरकै मुख्य स्थान सूर्यविनायक चोक नजिकैको दक्षिणपूर्वमा रहेको बजारमा दुईवटा द्वार छन् । एउटा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट करिब तीन सय मीटरपूर्व अरनिको राजमार्गबाटै र अर्को अरनिको राजमार्गअन्तर्गत आदर्श बस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमा जोडिएको छ ।
आधुनिक रूपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्थापन गर्न दुईवटा द्वार राखिएको बताइएको छ । कृषि बजारमा तरकारी किन्न आउनेहरुको गाडी जाममा नपरोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । कृषि बजारभित्रसम्म तरकारी पुर्याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने छ ।
बजारका सञ्चालक रहेका भनिएका मार्सी एमाले केन्द्रीय सदस्य पनि हुन् । अध्यक्ष ओलीलाई ‘हजुरबा’ भनेर खुशी तुल्याएवापत उनले पार्टी प्रवेश गरेलगत्तै एमालेको उपल्लो तहको पद हात पारेका हुन् । चितवन महाधिवेशनमा केन्द्रीय सदस्य नपाउँदा बाउँठिएर हिँडेका उनलाई अध्यक्ष ओलीले मनोनित कोटाबाट केन्द्रमा तान्नुभएको हो