नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको बताएका छन्। उनले त्यसवेला काम गरेकाले अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगिएको दावी गरे।
सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२र३३र११ केभी सबस्टेसन बुधबार उद्घाटन गर्दै प्रचण्डले इच्छाशक्तिसहित इमानदारिताका साथ काम गरिएमा असम्भव भनिएको काम गर्न सकिँदो रहेछ भन्ने यसले पुष्टि भएको बताए।
‘लोडसेडिङ अन्त्यसँगै चुलोचौका, उद्योग, यातायातलगायतका हरेक क्षेत्रमा विद्युत्को प्रयोग गर्ने अवस्था सिर्जना भएको छ, यसले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमो सकारात्मक प्रभाव पारेको छ ’– उनले भने।
चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रूपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो।
मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ। हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ।
प्रचण्डले मलुकका मुख्य सहर तथा औद्योगिक क्षेत्रहरूमा ५० वर्षसम्मको विद्युत् मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गरे। प्रचण्डले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन विद्युत्को महसुल सस्तो बनाइएको बताइन। उनले पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ भन्दै पेट्रोलियम पदार्थभन्दा करिब ४०र।५० प्रतिशत सस्तो विद्युत् हरेक क्षेत्रमा प्रयोग गर्न आग्रह गरिन्।
प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए। नागरिक दैनिकमा समाचार छ ।

