काठमान्डौं-अगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका पाँच दलले सहकार्य गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले आउँदो स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।
गठबन्धनका लागि सबै दलका प्रदेश, जिल्ला र पालिकास्तरका शीर्ष नेताहरूको संयन्त्र बनाउने र संयन्त्रले पाँच दलको अवस्थाबारे यही २२ गतेसम्म प्रतिवेदन केन्द्रमा बुझाउन निर्देशन दिने पनि निर्णय गरेको छ ।
संयन्त्रले पालिका, जिल्ला र प्रदेशमा पार्टीहरूको अवस्थाबारेको जानकारीसहित प्रतिवेदन तयार पारेपछि कहाँ कसरी जाने भन्ने निर्णय हुने कार्कीले बताएका छन ।
हिजो बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर र उपमहानगरको तालमेलबारे केन्द्रीय शीर्ष नेताहरूले नै निर्णय गर्ने बताएका थिए । भने आजको बैठकमा पहिला संयन्त्रले प्रतिवेदन बुझाएपछि मात्रै निर्णय हुने कांग्रेस नेता कार्कीले बताए । समग्रमा भन्नुपर्दा चुनावमा हामी पाँच दल एकजुट भएर जाने निर्णय भएको छ, यत्ति बुझ्नुहोस्’ उनले भने ।