कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिने दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले मुद्दा चलाएको छ। कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा तोकिएभन्दा बढी पिसिआर शुल्क लिएको भन्दै मुद्दा चलाइएको हो।
पुरानो मेडिकल कलेजलाई १८ लाख र स्टार अस्पताललाई ५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो। ती अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । पुरानो मेडिकल कलेजले संकलन गरेको नमुना स्टार अस्पताल पठाउने गरेको थियो।
सरकारले पिसिआर शुल्क २ हजार रुपैयाँ तोकेकामा ती अस्पतालले ३ हजार शुल्क लिएपछि प्रशासनले कारवाही गरेको हो। ती दुई अस्पतालविरुद्ध यही चैत ४ गते मुद्दा पेश गरिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रमलाल लामिछानेका अनुसार नमूना परीक्षण गरेका आधारमा धरौटी माग गरिएको हो।
प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारवाही गरेको हो। उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारवाही सुरु गरिएको प्रजिअ लामिछानेले बताए।
बयानका क्रममा दुवै अस्पतालका सञ्चालकले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ। उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो। यसअघि प्रशासनले बढी रकम लिएको भन्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई समेत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो।