दीपकराज गिरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकका सदस्य गिरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर माओवादीमा समाहित भएका हुन् ।
प्रचण्डसहित माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश,वर्षमान पुन अनन्तलगायतले एमाले छोडेका गिरीलाई माओवादीमा स्वागत गरेका थिए ।
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै पार्टी परित्याग र प्रवेशका क्रम दिनदिनै बढिरहेका छन् । खासगरी मधेश प्रदेशमा बहालवाला जनप्रतिनिधि नै टिकटको सुनिश्चितताका लागि एमालेमा लाग्नेक्रम बढेको छ ।
मधेशमा अन्य दलका नेता(कार्यकर्तालाई पार्टीमा भित्र्याउन एमाले अध्यक्ष केपी ओली जोड दिएर लागिरहेका बेला पहाडी इलाकामा भने एमाले परित्याग गर्नेहरु पनि उत्तिकै छन् । केही दिनअघिमात्रै ओलीका प्रियपात्र गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेका दर्जनौ एमाले नेता कांग्रेसमा गएका थिए ।
यता, कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् ।
गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् ।
‘म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ’ गिरीले लेखेका छन् । केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए । पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचारहरु आएका थिए ।