२०७२ असोजमा संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दी र लिम्पियाधुरा नक्सा प्रकरणपश्चात चिसिएको सम्बन्ध सुधार गर्न शुक्रबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भ्रमणको सुरुवात नै सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयबाट गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दिल्ली उत्रिएलगत्तै भाजपाको कार्यालय गएका थिए ।
भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री प्रतिनिधिमण्डलसहित पार्टी कार्यालयमै पुगेको यो पहिलो पटक हो । अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भाजपा कार्यालय पुगेका देउवाले कांग्रेस–भाजपा सम्बन्धलाई बढावा दिन चाहेको स्पष्ट सन्देश दिएका छन् ।
यसअघि देउवाले प्रधानमन्त्रीका रूपमा पाँचौं पटक शपथ लिएको महिना दिन बित्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘विशेष दूत’का रूपमा पाँचदिने भ्रमणका लागि काठमाडौं पुगेका भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
व्यक्तिगत र पार्टीस्तरमा सम्बन्ध विस्तार गर्न आएका चौथाइवालेको भ्रमणका दौरान दुई पार्टीको संस्थागत सम्बन्धलाई अघि बढाउन देउवा–पत्नी आरजु राणाले हिन्दु संस्कृतिको सदुपयोग गरेकी थिइन् । चौथाइवाले भदौ ६ मा रक्षा बन्धनको बेलुकी बालुवाटार छिरेका थिए ।
उनी आउने थाहा पाएपछि राणा रक्षाबन्धन लिएर स्वागत गर्न बसिन् । राणाले दुई मुलुकका फरक पार्टीका नेताहरूबीचको सम्बन्धलाई एकाएक ‘भाइ–बहन’ ९दिदी–भाइ० मा परिणत गरिदिइन् । त्यसलाई राणाको ‘राखी कूटनीति’ समेत भनियो ।
प्रधानमन्त्री–पत्नी राणाले व्यक्तिगत तहबाट सुरुआत गरेको कांग्रेस र भाजपाबीचको ‘राखी कूटनीति’ लाई देउवाले भारत भ्रमणका दौरान नयाँदिल्लीस्थित भाजपा मुख्यालयमा पुगेर संस्थागत गर्न खोजेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।