नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरेक दिनजसो गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको भाषण गर्छन् । तर, स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओली अतालिन थालेका छन् ।
सत्तारुढ गठबन्धनका दल तीनै तहको निर्वाचनमा मिलेर जान सहमत भएसँगै ओली अतालिएका हुन् । गठबन्धन यथावत हुँदा तीनै तहको निर्वाचनमा सर्वनाक हार हुने बुझेर अतालिएका ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘मिलौन’ भनेर बारम्बार म्यासेज गरिरहेका छन् ।
ओलीले प्रचण्डलाई ‘मिलौन’ भनेर म्यासेज गर्नु खासै ठूलो कुरा भएन । तर, भर्खरै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत ‘मिलेर अघि बढौं, म एककदम पछि हट्न तयार छु’ भन्दै फोन तथा म्यासेज गर्नु चाहिँ अचम्मको कुरा हो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले टर्कीमा छन् । जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा माग लिन टर्की पुगेका हुन् । नेपाल भोली नै स्वदेश फर्कँदै छन् । तर, पराजयको डरले छटपटीमा रहेका ओलीले फोन गरेर सत्ता गठबन्धन तोड्ने प्रयास गरेका हुन् ।
ओलीले हिजो नेपालगञ्जबाट टर्कीमा रहेका नेपाललाई फोन गरेर सहमति भए आफू एककदम पछि हट्न तयार रहेको बताएका हुन् । नेपालले भने जवाफमा ‘यस्तो कुरा सम्भव छैन’ भनेका छन् ।