हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुध्द एयरको उडानबाट जनकपुर गई उतै बस्नुभयो । उता प्रधानसेनापति प्रभुराम शर्मा झण्डै त्यहीबेला भूपू सम्मेलनमा भाग लिन सुर्खेततिर लाग्नुभयो ।
हिजै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कञ्चनपुरमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन बिहान सवा ८ बजे श्री एअरलाइन्सको उडानबाट धनगढी गई कन्चनपुर,बेदकोटका मेयरसहितलाई पार्टी प्रवेश गराएर बेलुका फर्कनुभयो ।
यति एयरलाइन्सको सिमरा–काठमाडौं उडानबाट संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले हिजो बिहान सवा ९ बजे काठमाडौं आउनुभयो भने बुध्द एयरको उडानबाट शिक्षा,विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव र पूर्वमन्त्री शरदसिहं भण्डारी सवा १० बजे जनकपुर जानुभयो ।
श्री एयरलाइन्सको उडान हिजो बिहान ११ बजे शहरी विकासमन्त्री रामकुमारी झाँक्री र नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराई विराटनगरबाट काठमाडौं आउनुभयो । त्यतैबाट बुद्ध एयरको जहाजमा फर्कनेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि हुनुहुन्थ्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको हेलिकप्टर एनए ०५८ अगुस्ताबाट हिजो बिहान साढे ११ बजे सिन्धुपाल्चोक गएर हिजै अपरान्ह काठमाडौं फर्कनुभयो ।यसैगरी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुध्द एयरको उडानबाट बिहान सवा ११ बजे भरतपुर हुँदै काठमाडौं आउनुभयो ।
हिजो श्रीलंकाको राजधानी कोलम्बोबाट श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा एएफसी कपमा सहभागिता जनाउन श्रीलंकन फुटबल खेलाडी टिम मेनेजेर मोहम्मद हिदेनको नेतृत्वमा नेपाल आएको छ । टोलीमा १६ जना छन् ।
सोही उडानबाट सार्क महासचिवका सन्तानहरु पनि मध्यान्ह १२ बजे काठमाडौं आइपुगेका छन् ।
यता आन्तरिक उडानतर्फ यति एयरलाइन्सको भद्रपुर–काठमाडौं उडानमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्मन्त्री प्रदीप ज्ञवाली पौने १ बजे राजधानी आइपुग्नुभएको छ ।
नेपाल एयरलाइन्सको उडानबाट जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादव हिजो दिउँसो साढे १ बजे भारत जानुभएको छ भने एअर इण्डियाको उडानमा अर्थमन्त्री जनार्दन शर्मा कोलकाताबाट दिउँसो साढे १ बजे काठमाडौं आइपुग्नुभएको छ ।
बुध्द एयरको भरतपुर–काठमाडौं उडानमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज दिउँसो २ बजे राजधानी आउनुभयो । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ बुध्द एयरको पोखरा उडानबाट हिजो दिउँसो सवा २ बजे काठमाडौं आउनुभएको छ ।
पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव यति एअरलाइन्सको उडानबाट दिउँसो ३ बजे बिराटनगर जानुभयो भने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ बुध्द एअरको जहाजमा दिउँसो ४ बजे पोखरा पुग्नुभयो ।
पोखराबाट दिउँसो ४ बजे आएको बुध्द एयरको जहाजमा नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफ हुनुहुन्थ्यो । त्यसैगरी बुध्द एयरको जनकपुर उडानबाट हिजो दिउँसो पौने ५ बजे नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि काठमाडौं आउनुभयो ।
बुद्ध एयरको भरतपुर–काठमाडौं उडानबाट महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी साँझ ५ बजे राजधानी फर्कनुभयो भने हिजै श्रीएयरको उडानबाट नेपालका लागि स्विटजरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापलेर ओसवाल्ड साँझ सवा ५ बजे राजधानी आउनुभयो ।
हिजो पनि अमेरिकी वायुसेनाको जहाज काठमाडौं आएको छ । उक्त जहाजमा नेपाली सेना र अमेरिकी सेनाबीच चैत १८ गतेदेखि आगामी बैशाख १५ गतेसम्म संयुक्त रुपमा सञ्चालन हुने एक्स ब्यालेन्स नेल तालिममा सहभागी अमेरिकी सेना र तिनका सामान ल्याइएको थियो । जहाजमा १३ जना क्रु मेम्बर थिए भने दुई जना अमेरिकी सैनिक ।
हिजै बिहान अमेरिकी सेनाको चार्टर विमान थाइल्याण्डबाट काठमाडौं आएको थियो । उक्त विमान नौ जना चालकदलका सदस्य लिएर पौने ११ बजे त्यतै गएको छ ।
श्रीएअरको काठमाडौं(धनगढी उडानमा नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग पौने ६ जबे त्यसतर्फ जानुभएको छ । त्यसैगरी नेपाल एअरलाइन्सको उडानबाट नेपाली काँग्रेसका नेता तथा सांसद विनोदकुमार चौधरी साँझ ६ बजे नयाँ दिल्लीबाट काठमाडौं अवतरण गर्नुभएको छ ।
हिजो यति एयरलाइन्स चढेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल साँझ ७ बजे भैरहवा जानुभएको विमानस्थल स्रोतले बताएको छ ।