आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ । काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के गर्लिन् भन्ने चासो बढेको छ । माओवादी नेतृ दाहाल पनि गठबन्धनका तर्फबाट मेयरकी दाबेदार हुन् ।
आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय चुनावमा सघाउन सकिने तर मेयर भने आफूले पाउनुपर्ने काँग्रेस बैठकको माग छ ।
केन्द्रमा पाँच दलले देशभरका ६ वटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने सहमति गरेका छन् । तर, चितवन काँग्रेसको अडानले केन्द्रमा दबाव सिर्जना भएको छ । यसअघि जुन दलले जितेको हो, त्यही दललाई छाड्ने गरी केन्द्रमा छलफल भइरहेको नेताहरु बताउँछन् ।
त्यो स्थितिमा ६ वटा महानगरपालिकामध्ये काँग्रेसले विराटनरगर र ललितपुरसहित एमालेले जितेको काठमाडौंसमेत लिने अनि भरतपुर माओवादीलाई छाड्ने केन्द्रमा छलफल भइरहेको बुझिएको छ । पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले दाबी गरेका छन् । यसरी केन्द्रमा होमवर्क भइरहेकै बेला चितवन काँग्रेसले भरतपुरको मेयरसमेत आफैंले पाउनुपर्ने दाबी गरेको हो ।
नेपाली काँग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले भने, ‘चितवन जिल्ला कार्यसमितिको बैठकले केन्द्रको पाँच दलीय संयन्त्रलाई अन्य जिल्लामा जस्तै निरन्तरता दिइने निर्णय ग¥यो । तर, यसको बटमलाइन भरतपुर महानगरपालिकाको मेयर काँग्रेसको हुनुपर्नेछ ।’
चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को गृहजिल्ला समेत हो यही कारण भरतपुर महानगरको मेयर पुनः माओवादीले पाउनुपर्ने माओवादीको अडान छ ।
देशैभरका ७५३ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र विवादको केन्द्र भरतपुर महानगर बन्न पुगेको छ । प्रचण्डको निर्वाचन क्षेत्र हुनु र उनकी छोरी रेणु दाहाल भरतपुर मेयर भएकाले चितवन चर्चामा आएको हो ।
विगतको चुनावी नतिजा हेर्दा चितवनमा माओवादी अंकगणितीय हिसावले तेस्रो स्थानमा छ । ०७४ को चुनावमा भएको गठबन्धनलाई लिएर पनि चितवन काँग्रेसमा असन्तुष्टि देखिको थियो, जुन अहिले फेरि सतहमा आएको छ । ०७४ मा माओवादीले मेयर र काँग्रेसले उपमेयर लिने गरी गठबन्धन भएको थियो ।