नेपालकाे इतिहासमा पहिलाेपल्ट बुक बिल्डिङ प्रविधिबाट आइपीओ जारी गर्न लागेकाे सर्वाेत्तम सिमेन्टले आइपीओ जारी गरेकाे ३ महिनाभित्रै लगानीकर्ताहरूलाइ बाेनस र लाभांश दिने घाेषणा गरेकाे छ ।
बुधबार कम्पनीकाे बिक्री प्रबन्धकसँगकाे सम्झाैता कार्यक्रममा कम्पनीले उक्त घाेषणा गरेकाे हाे । आइपीओ जारी भएपश्चात पहिलो ३ महिना भित्रै १०% बोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएको कम्पनीको भनाई छ ।
आइपीओबाट प्राप्त रकममध्ये ४०% कम्पनीले ऋण भुक्तानी गर्नेछ । त्यसपछि कम्पनी शतप्रतिशत ऋण मुक्त हुनेछ । बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेको कम्पनीको भनाई छ । यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५% भन्दा बढी हुन जाने प्रक्षेपण गरेको छ ।
विगत ३ वर्षको औसत मुनाफा (कर पछिको) वार्षिक १ अर्ब ४ करोड भन्दा बढी भएको उसको भनाई छ । साथै, ३ वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको र आगामी ३ वर्षको औसत प्रतिसेयर आम्दानी ४५ रुपैयाँभन्दा बढी हुने अनुमान गरेको छ ।
सर्वोत्तम सिमेन्टले प्रतिकित्ता सेयरको ७५० रुपैयाँ मूल्य निर्धारण गरेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्नुपूर्व आधार मूल्य तय गर्न योग्य संस्थागत लगानीकर्तासँगको छलफलमा आशय मूल्य माग गर्नुपूर्व आफ्नो मूल्य सार्वजनिक गरेको हो ।
यसआधारमा, सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिमार्फत आइपीओ जारी गर्ने प्रक्रियाको पहिलो चरणमा रहेको छ । कम्पनीले भ्याल्यूएसन गराएर ७५० रुपैयाँको मूल्य प्रस्तावसहित योग्य संस्थागत लगानीकर्तासँग छलफलमा जाने तयारी गरेको छ ।
त्यसो त यस कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल, अधार मूल्य तय, बिक्री सीमा निर्धारण र बोलकबोलमार्फत कट अफ मूल्य निर्धारण लगायतका प्रक्रिया पार गर्नै बाँकी रहेको छ ।
तसर्थ, कम्पनीले अहिले निर्धारण गरेको प्रतिकित्ता ७५० रुपैयाँ भाउ माथि उल्लेखित चरणहरु पार गरेपछि स्वीकृत भएको खण्डमा मात्रै लागू हुनेछ । संस्थागत लगानीकर्ताले असहमति जनाएको खण्डमा कम्पनीले प्रस्तावित भाउ घटाउनुपर्ने पनि हुनसक्छ ।