प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा गएका पत्रकार ऋषि धमला विवादमा आएका छन्। अहिले उनको एउटा नयाँ भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा चढेको नेपाल एयरलाइन्सको विमानभित्रैबाट धमलाले ‘लाइभ’ गरेका थिए । त्यसक्रममा उनले विमानका क्रु मेम्बरहरूलाई जोरजोलुम गरेको भिडिओ फेसबुक र टिकटकमा भाइरल बनेको हो ।
क्रु मेम्बरहरूले रोक्दारोक्दै धमला इकोनोमी क्लासबाट बिजनेस क्लासमा घुसे’का छन् ।
प्रधानमन्त्री फर्केको विमान शुक्रबार राति करिब ८ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको थियो । अवतरणलगत्तै धमलाले बुम समातेर प्राइम टिभीमा ‘प्रत्यक्ष प्रसारण’ सुरू गरेका थिए ।
इकोनोमी क्लासमा यात्रा गरेका धमला सुरूमा भ्रमण दलका एक व्यक्तिसँग कुरा गर्छन् । त्यसपछि सिधै प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै बिजनेस क्लासभित्र घुस्न खोज्छन् । त्यस क्रममा उनलाई जहाजका एक पुरुष कर्मचारी (क्याबिन क्रु०)ले रोक्छन् ।
‘सेक्युरिटी प्रोटोकल फलो गर्नुस् सर, यसरी भित्र जान मिल्दैन,’ ती कर्मचारी अनुरोध गर्छन्, ‘कुनै चिठी छ भने दिनुस्, नत्र हामी गरिब मान्छेको जागीर जोखिममा नपारिदिनुस् ।’
तर, उनलाई कुनै वास्ता नगरी ‘हामी प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै धमला भित्र घुस्छन् । त्यसपछि एक महिला (क्याबिन क्रु)एयरहोस्टेसले पनि उनलाई रोक्न खोज्छिन् । धमला एयरहोस्टसलाई पनि हातले पन्छाउछन् । यस क्रममा पुरुष कर्मचारीले ‘महिलामाथि हातपा’त नगर्नुस्’ भनेको सुनिन्छ । धमला वास्तै गर्दैनन् ।
बिजनेस क्लासमा छिरेर उनी भ्रमण दलका एक सदस्यको बाइट लिन्छन् । प्रधानमन्त्री देउवाको छेउछाउ भने पुग्न सक्दैनन् । उनले खोज्दाखोज्दै देउवा बाहिर निस्किसकेका हुन्छन् ।
अन्ततः धमला हामी ‘प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै विमान बाहिर निस्किन्छन् र केहीबेर एयरपोर्टभित्र एक्लै यताउता भौतारिदै अन्तमा परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलनमा पुग्छन् ।