सोमबार एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ९हरि० मंगलबार नै क्षमायाचनासहित माओवादी फर्किए। २०७४ सालको चुनावमा माओवादीका तर्फबाट अध्यक्ष जितेका डल्लाकोटी सोमबार धादिङ एमाले नेताहरु भूमी त्रिपाठी, पुष्प कँडेलसहित बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर प्रवेश गरेका थिए।
तर त्यसको २४ घण्टा पनि बित्न नपाउँदै डल्लाकोटी आफूले गम्भीर गल्तीको बताउँदै क्षमायाचनासहित माओवादीमै फर्किए। एमाले बसाइ एक पनि टिक्नुकापछि डल्लाकोटीले माओवादीबाट चर्को दबाब र आश्वासनले काम गरेको सजिलै बुझ्न सकिन्छ।
डल्लाकोटी बालकोट पुगेको सुइको पाउने वित्तिकै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई फोन गरेर रोक्ने प्रयास गरेका थिए। दाहालले एमाले नजान आग्रह गर्दै ‘धादिङमा सँगै बसेर माछा खाने’ भावनात्मक प्रस्ताव राखेका थिए।
तत्काल त्यसलाई बेवास्ता गरेर ओलीको हातबाट टिका लगाएका डल्लाकोटी २४ घण्टा पनि टिक्न सकेनन्। माओवादीमा फर्केपछि उनले बुधबार बिहान अध्यक्ष प्रचण्डलाई भेटेर परिबन्दमा परेर बालकोट पुगेको प्रष्टिकरण दिएका छन्।
डल्लाकोटीले एमाले छिरेपछि आफूलाई पार्टीका नेता, कार्यकर्ता र निर्वाचित गर्ने मतदाताले सुत्न पनि नदिएको गुनासो प्रचण्ड समक्ष गरेको रमेश मल्लले जानकारी दिए।
प्रचण्डका स्वकीय सचिव मल्लले दाहाल व्यक्त गरेको कुरा उद्धृत गर्दै भने, ‘अध्यक्ष ज्यू केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ। यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन् सुत्न नि दिएनन्। म आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु। र, म २ दिनमै घर फर्केको छु।’
डल्लाकोटीले क्षमायाचना गरेपछि दाहालले उनलाई अब पार्टी काममा फर्किन निर्देशन दिएका छन्। दाहालले उनलाई भने, ‘गल्ती गरे भनिसक्नु भो। अब काममा फर्कनुस्।’
माओवादीमै फर्किएसँगै डल्लाकोटीले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा बेनिघाट रोराङ गाउँपालिकाकै अध्यक्षको उम्मेद्वार हुने लगभग निश्चित भएको छ। धादिङका १३ वटा स्थानीय तहमध्ये गठन्धनमा आबद्ध कांग्रेसले पाँच माओवादी र एकीकृत समाजवादीले चार÷चारवटा पाउने सहमति भइसकको जिल्लाका एक नेताले जानकारी दिए।
समाजवादीका एक नेताका अनुसार माओवादीको भागमा बेनिघाट रोराङ गाउँपालिका, थाक्रे गाउँपालिका, गंगा जमुना गाउँपालिका र रुबी भ्याली गाउँपालिका पाएको छ।
डल्लाकोटीलाई पार्टीमै फर्काएपछि उनलाई फेरि बेनिघाटको अध्यक्षको उम्मेद्वार बनाउने सुनिश्चित गरेर प्रचण्डले फर्काएका छन्। अघिल्लो स्थानीय तहको चुनावमा डल्लाकोटी माओवादीका तर्फबाट धादिङमा जित्ने एक मात्र पालिका प्रमुख हुन्।

