एक जना साथीले मसँग गुनासो गरे निरन्तर ५/६ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) भरिसकेँ, तर पर्दैन । आईपीओको नतिजा निकाल्नेहरु आफ्ना नजिकका मान्छेलाई मात्रै पार्छन् कि क्या हो ? मेरो साथीको बुझाईमा सो गुनासो स्वभाविक थियो ।
निरन्तर ५/६ वटा कम्पनीको आईपीओमा आवेदन दिँदा पनि परेन, उनी भन्दै थिए. कुनै कम्पनीमा सानो तिनो लगानी गर्छु भन्दा पनि पर्दै पर्दैन, लगानी गर्ने वातावरण नै छैन ।भर्खर डिम्याट खाता खोलेर आईपीओ भर्न शुरु गरेका उनले आईपीओ परेन मात्र होइन उनले आईपीओको नतिजा निकाल्नेहरुले आफ्ना आफन्त वा चिनेजानेकालाई मात्रै सेयर पार्छन् कि भन्ने प्रश्न र शंका मलाई सुनाउँदै थिए ।
आईपीओ बाँडफाँडको प्रक्रिया कसरी हुन्छ ? भन्ने नै राम्रोसँग जानकारी नपाएका उनको लागि त्यो जिज्ञासा र शंका स्वभाविक थियो । पहिले डिम्याट खाता कम भएकै कारण र कमैले मात्रै आईपीओ भर्ने भएकोले पनि आवेदन दिएका सबैले सेयर पाउँथे । तर, पछिल्लो समय भने अवस्था पुरानै रहेन ।
तथ्यांक अनुसार डिम्याट खाता खोल्नेको संख्या ३३ लाख पुगिसकेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको संख्या बढिरहेको छ ।
अघिल्लो वर्ष नेपाल पुनर्बीमा कम्पनी र हालै नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ठूलो मात्रामा सेयर निष्काशन गरेसँगै डिम्याट खाता खोल्नेहरुको संख्या अधिक बढ्यो । ती दुवै कम्पनीहरुको आईपीओ भने सबैले न्युनतम ४० देखि अधिकतम ६० कित्ता सेयर पनि पाए ।
तर, त्यसपछिका धेरै कम्पनीहरुले कम मात्रामा आईपीओ निष्काशन गर्ने र आवेदन गर्नेहरु धेरै हुनाले पनि अधिकांशलाई सेयर पर्दैन । त्यसैले पनि आफुलाई सेयर नपरेकाहरु सेयर परेन भनेर साथीसँगीसँग यस्ता खालका गुनासो गरिरहेका हुन्छन् भने आफ्ना तर्क सामाजिक सञ्जालमा पोल्नेहरुको संख्या पनि कम छैन ।
जसरी हल्लाको भरमा र बेतुक किसिमको तर्क सामाजिक सञ्जालमा राखिन्छन् । त्यसले एउटा व्यक्तिमा मात्र होइन आईपीओ बाँडफाँड सम्बन्धि धेरै जानकारी नभएकाहरुलाई एक खालको भ्रम सिर्जना गर्छन् । त्यसले एक कान दुई कान हुँदै एउटा ठूलो सञ्जाल नै सिर्जना गर्छ र धेरैले मेरो साथी जस्तै तर्क राख्न थाल्छन् ।
तर, वास्तविक रुपमा भने त्यस्तो होइन । आईपीओ निष्काशन गर्ने कम्पनीहरुको त्यसमा कुनै पनि भूमीका हुँदैन । कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको हुन्छ । सोही बिक्री प्रबन्धकले गोलाप्रथाबाट सेयर बाँडफाँड गर्छ । यसरी बाँडफाँड गर्दा धितोपत्र बोर्डबाट स्वीकृति प्रदान गरिएको सफ्टवेयर प्रयोग गरिन्छ । यसरी हचुवाको भरमा शंका गर्नु सो सफ्टवेरमाथि नै शंका गर्नु हो । सफ्टवेरले न आफ्ना चिन्छ नत बिराना नै ।
आईपीओ बाँडफाँडको प्रक्रिया: अहिले आईपीओ भरेका सबैले पाउने सम्भावना एकदमै न्यून हुन्छ । आईपीओ भर्ने बढी र निष्काशित सेयर संख्या कम भएकै कारण धेरैले सेयर पाउँदैनन् । सेयर बाँडफाँड गर्दा सबैलाई दिन पुग्ने भए सर्वप्रथम सबै आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गरिन्छ ।
१० कित्ताका दरले बाँडफाँड गरे पश्रचात बाँडफाँडको दोस्रो चरणमा बाँकी रहेको निष्काशित सेयर २० वा सो भन्दा बढी कित्ता माग गर्ने आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गरिन्छ । पुनः १० कित्ताका दरले बाँडफाँड गरेपछि ३० र सोभन्दा बढी कित्ता माग गर्ने आवेदकहरुलाई पुनः १० कित्ता दिइन्छ । अझै बाँकी रहेको सेयर गाेलाप्रथाबाट पुग्ने जतिलाई १० कित्ताका दरले बाँडफाँड गरिन्छ ।
१० कित्ता नै नपुग्ने भए के गरिन्छ ? अहिलेको समस्या नै यही हो । आवेदक धेरै र निष्काशित सेयर कम भएकै कारण धेरैले मलाई सेयर परेन भनेर विभिन्न गुनासो गर्ने गर्छन् । १० कित्ताका दरले सबै आवेदकलाई सेयर बाँडफाँड गर्न नपुग्ने अवस्थामा गोलाप्रथाबाट आवेदक छनोट गरी बाँडफाँड गरिन्छ ।
आवेदकहरुलाई न्युनतम १० कित्ता पाउने किसिमले सफ्टवेरको प्रयोग गरेर बाँडफाँड गरिन्छ । उदाहरणका लागि २ लाख कित्ता सेयर निष्काशन गरिएकोमा ४० हजार आवेदक भए भने सबैलाई १० कित्ताका दरले दिन पुग्दैन । ४० हजार जनालाई १० कित्ताका दरले सेयर दिन ४ लाख कित्ता आवश्यक पर्छ ।
यहाँ १० कित्ताका दरले २० हजार जनालाई मात्र सेयर पुग्छ । ४० हजार सेयर भर्ने आवेदकमध्येबाट ५० प्रतिशतले मात्रै सेयर पाउँछन् भने ५० प्रतिशतको हात खाली नै हुन्छ । त्यसैले भर्ने सबैले पाउँछन् भन्ने निश्चित हुँदैन ।
मैले सेयर भरेर पनि पाएनँ भन्नु भन्दा अगाडि निष्काशित सेयर संख्या र सेयर माग गर्ने आवेदकहरु कति छन् बुझ्न आवश्यक हुन्छ । धेरै पटक धेरै कम्पनीको सेयर भरेर पाइएन अब भर्नु हुँदैन भन्ने मानसिकता भने बनाउनु हुँदैन ।
तपाइँको सट्टा अरुले नै पाइरहेको हुन्छ ।तपाइँले आईपीओ भर्न छोड्नु भयो भने तपाइँले लिने फाइदा अरुले नै लिइरहेको हुन्छ । त्यसैले मलाई पर्दैन भनेर मन दुखाउनु र हल्लाको भरमा तर्क गर्नुभन्दा पटक–पटक प्रयास गरेर निरन्तर रुपमा आईपीओ भर्नु नै तपाइँको लागि उपर्युक्त हुन्छ ।
बिकासन्युजबाट सभार