पाल पत्रकार महासंघको आसन्न निर्वाचन मर्यादित बनाउन माग गर्दै साधारण सदस्य राजेश घिमिरेले ध्यानाकर्षणपत्र बुझाएका छन् । आइतबार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई बुझाइएको ध्यानाकर्षणपत्रमा विगतमा महासंघको निर्वाचनमा कतिपय अमर्यादित गतिविधि हुने गरेको स्मरण गराउँदै यसपालिको निर्वाचनमा ती गतिविधि नदोहोरियोस् भनी सचेत गराइएको छ ।
तीन बुँदा समेटिएको ध्यानाकर्षणपत्रमा मतदान सुरु भएपछि पनि मतदाता थप्ने विगतको परिपाटी यो पटक अन्त्य होस् भनिएको छ । त्यस्तै एउटा पदमा उम्मेदवारी दिएर जुनसुकै समयमा फिर्ता लिन लगाउने र यसैलाई फेरि अन्य पदमा पनि मनोनयन गराउने विगतको परिपाटी यो पटक अन्त्य होस् भन्ने उल्लेख छ ।
मतदान गोप्यरुपमा हुने परिपाटी विगतमा कायम हुन नसकेको भन्दै एकजनाले मतदान गर्दा अर्काले नजिकै उभिएर चेकजाँच गर्नेजस्ता हरकत यसपालि नदोहोरियोस् भनी सचेत गराइएको छ । नेपालका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व छनौटका लागि चैत २५ गते निर्वाचन हुँदैछ ।
“चितवनको निर्वाचनकोे विगत साधारण सदस्यको हैसियतमा आज मैले महासंघको चितवन शाखालाई यो ध्यानाकर्षण पत्र बुझाएको छु”, ध्यानकर्षणपत्रमा भनिएको छ, “यो कुनै पात्र र संगठनप्रति नभई प्रवृत्तिप्रति लक्षित छ ।”