संयुक्त राज्य अमेरिकाका चार जना सांसद आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन्। सिनेटर कस्र्टन गिलिब्रान्डको नेतृत्वमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स छन्। टोलीमा अमेरिकी विदेश मन्त्रालयका केही अधिकारी पनि रहने बताइएको छ।
सिनेटर कर्स्टनले गत निर्वाचनमा राष्ट्रपति पदमा उठ्ने घोषणा गरेकी थिइन्। तर, उनले पछि नउठ्ने निर्णय लिइन्। उनी न्युयोर्कलाई प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक पार्टीकी प्रभावशाली सिनेटर हुन्। उनी दुई पटक न्युयोर्कबाट सिनेटर निर्वाचित भइसकेकी छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकी सांसदको टोली आइतबारसम्म नेपालमा रहनेछ। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्का र जिभिन्न राजनीतिक दलका नेता र सांसदसँग भेटवार्ता गर्नेछन्।
अहिले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणमा छिन्। उनले सोमबार परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गरेकी छन्। मंगलबार उनी लुम्बिनी जानेछिन्। अमेरिकी उप—सहायक विदेशमन्त्री किडरलिङ भ्रमण सकेर फर्केको चार दिनपछि अमेरिकी सांसदको टोली नेपाल आइपुग्नेछ।
भ्रमणका एजेन्डाबारे नेपालका सरकारी अधिकारीहरुले अनविज्ञता प्रकट गरे। अमेरिकी सांसद टोलीले आफ्नो भ्रमण दुई वटा विषयमा केन्द्रित रहने उल्लेख गरेको छ। भ्रमण टोलीले आइतबार जारी गरेको वक्तव्य अनुसार भ्रमणको पहिलो उद्देश्य युक्रेन मामिलामा समर्थन जुटाउनु हो भने दोश्रो सम्बन्धित मुलुकसँग अमेरिकाको द्विपक्षीय सम्बन्ध थप विस्तार गर्नु हो।
भ्रमण नेपाल केन्द्रित भने होइन। पाँच मुलुकको नौ दिने यात्रामा अमेरिकी सांसद निस्केका हुन्। अमेरिकी सांसदहरु दक्षिणी छिमेकी भारत भ्रमणपछि काठमाडौँ आउनेछन्। भारतअघि उनीहरु युरोपेली मुलुक पोल्यान्ड र जर्मनी तथा खाडी मुलुक संयुक्त अरब एमिरेट्स भ्रमणमा जानेछन्।
अमेरिकी सांसद टोलीले भ्रमणअघि वक्तव्य जारी गर्दै विश्वमा बढ्दो तनावबीच पोल्यान्ड, संयुक्त अरब एमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमणमा जान लागेको जनाएको छ।
‘यो सशक्त कंग्रेसनल डेलिगेसनले पोल्यान्डस्थित अमेरिकी सैन्य नेतृत्व र सैनिक जवानहरुसँग भेटवार्ता गर्नेछ। अमेरिका र नेटो गठबन्धनमा रहेका मुलुक मिलेर रुसले युक्रेनमाथि नाजायज र अन्यायपूर्ण रुपमा गरेको हमलाका विरुद्ध कसरी काम गर्न सक्छन् भन्नेबारे बुझ्नेछ। अहिलेको विश्वव्यापी तनावबीच कंग्रेसनल डेलिगेसनले पोल्यान्ड, युएई, इन्डिया, नेपाल र जर्मनीका नेताहरुसँग भेटेर सम्बन्ध सुदृढ गर्नेबारे पनि छलफल गर्नेछ,’ वक्तव्यमा भनिएको छ।
पोल्याण्डसँग सीमा जोडिएको युक्रेनमा रुसले डेढ महिना अघि सैन्य हमला गरेको थियो। अमेरिकाले रुसलाई नियन्त्रणमा राख्न पोल्यान्डमा सैन्य उपस्थिति बढाउँदै लगेको छ। पोल्यान्डमार्फत् अमेरिकाले युक्रेनमा सैन्य सहयोग पठाइरहेको छ। पोल्यान्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० को सदस्य हो।

