प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्ला डडेलधुरामा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन नहुने भएको छ । सत्ता गठबन्धनमा तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पालिका भागवण्डामा कुरा नमिलेपछि तीनै दलले छुट्टाछुट्टै प्रतिस्प्रर्धा गर्ने निर्णय गरेका हुन् ।
सातवटा पालिका रहेको डडेल्धुरामा कांग्रेसले ५, माओवादीले ३ र समाजवादीले २ स्थानीय तहमा दाबी गरेको थियो ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष मानसिंह मालका अनुसार सौहार्दपूर्ण रुपमा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने लिखित सहमति नै भइसकेको छ ।
यसको जानकारी केन्द्रमा समेत गराइसकेको उनले बताए । उनले भने, “डडेल्धुरामा एमाले तेस्रो पार्टी हो । प्रतिस्प्रर्धा कांग्रेस र माओवादीकै हो । यस्तोमा जो जिते पनि सत्ता गठबन्धनकै जित हुन्छ । त्यसैले हामीले मिल्न नसक्ने अवस्था देखिएपछि आ–आफ्नो ढंगले चुनावमा जाऔं भनेका हौं । यसमा सबै सहमत छ ।”
मालका अनुसार केही नवदुर्गा र गन्यापधुरा गाँउपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तालमेल हुने झिनो सम्भावना छ ।

