स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले यस वर्षको होली पनि घरमै बसेर मनाउन अनुरोध गरेको छ। बुधबारको प्रेस ब्रिफिङमा सह-प्रवक्ता डा. समिर अधिकारीले कोरोना भाइरसको संक्रमण बढेको हुँदा यसवर्ष होली घरमै भीडभाड नगरी मनाउन अनुरोध गरेको हो।
आउँदो चैत १५ गते पहाडमा र १६ गते तराईमा होली मनाइँदैछ। त्यसैलाई मध्यनजर गर्दै मन्त्रालयले घरमै बसेर मनाउन अनुरोध गरेको हो। ‘कोरोना संक्रमण केही कम भए पनि जोखिम भने कम भएको छैन। विगत केही दिनदेखि संक्रमितको संख्या उकालो लागेको छ।
‘उनले भने,’ यस समयमा पुन: कोरोना संक्रमणको संख्या विस्तारै बढ्दै गएको र संक्रमणको जोखिम बढ्दै गएकोले यसपालिको होली घरमै बसी मनाउन र अनावश्यक भीडभाड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ।’
संक्रमण बढेसँगै मन्त्रालयले सबै तहमा आवश्यक सावधानी अपनाउन समेत सचेत गराइसकेको सहप्रवक्ता अधिकारीले बताए। यसैबीच गृह मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै ७७ जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र जारी गरेको छ।