प्रधानमन्त्री शेरबहादुर देउवाले जेष्ठता र वरिष्ठताक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी०मा अतिरिक्त महानिरीक्षक ९एआईजीपी० धीरजप्रताप सिंहलाई बढुवा गरेका छन् ।
डेढ वर्ष सिनियर एआईजीपी विश्वराज पोखरेल र १० महिना सिनियर सकुलबहादुर थापालाई पन्छाएर प्रधानमन्त्री देउवाले १ महिना अघि मात्रै एआइजीपी बनेका सिंहलाई प्रहरीको महानिरीक्षकमा बढुवा गरेका हुन् ।
महानिरीक्षक शैलेश थापा क्षत्रीसहित २०४९ वैशाखमा सेवा प्रवेश गरेका सबै अधिकृतहरु सोमबारबाट अनिवार्य अवकासमा जाँदै छन् । नेपाल प्रहरीको ुचेन अफ कमाण्डुमै असर पुग्ने गरी कनिष्ठलाई आईजीपीमा बढुवा गरिएपछि सिनियर एआइजीपीद्वय पोखरेल र थापा यसविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।
सत्ता गठबन्धनमा रहेका दल र कांग्रेसभित्रैका नेताहरुले कनिष्ठलाई महानिरीक्षक बढुवा गर्दा नकारात्मक सन्देश जाने भन्दै स्वभाविक प्रक्रियाबाट नेतृत्व चयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रहरी नियमावलीमा पनि जेष्ठतालाई बढुवाको पहिलो प्राथमिकतामा राखिएको छ ।
प्रहरी नियमावली २०७१ को नियम ४१ मा ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ,’ भनिएको छ ।
त्यस्तै नियवावलीको नियम ३० मा बढुवा हुने आधार जेष्ठता, कार्यसम्पादन मुल्यांकन, तालिम, शैक्षिक योग्यता, भौगोलिक क्षेत्रको अनुभव वापतका अंकमा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारको बढुवा हुने,’ भनिएको छ । तर, यी दुवै प्रावधानलाई सरकारले वेवास्ता गरेको छ । त्यतिमात्र होइन, यसअघि सर्वोच्चले गरेका व्याख्या र नजिरलाई पनि सरकारले बढुवामा वेवास्ता गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले कनिष्ठलाई बढुवा गर्दा आइपर्ने कानुनी अड्चनबारे महान्यायाधीवक्ता खम्बबहादुर खातीसँग पनि परामर्श गरेका थिए । तर, प्रधानमन्त्री देउवाले ‘जसरी पनि सिंहको नाम मन्त्रिपरिषद बैठकमा पेश गर्न’ निर्देशन दिएपछि त्यही अनुसार गृहमन्त्रालयबाट टिप्पणी उठेको मन्त्रालय स्रोतले जानकारी दियो ।
आइतबार बिहान पनि प्रधनानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका शीर्ष नेताहरुले कनिष्ठलाई बढुवा नगर्न सुझाव दिएका थिए । तर, प्रधानमन्त्री देउवाले ‘मैले धीरजलाई बढुवा गर्ने वचन दिइसकेको छु,’ भन्दै सुझाव सुन्न नमानेको एक नेताले बताए ।
आईजीपीमा बढुवा भएका सिंहसहित पोखरेल र थापा २०४९ चैतमा निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । तर, एआईजी हुँदा उनीहरुको जेष्ठता र वरियताक्रमको हैसियत नै फरक फरक छ । सुरक्षा संगठनमा एकै दिन एकभन्दा बढी अधिकृतहरु बढुवा भएमा दर्ज्यानी चिन्ह लगाउँदा दायाँतर्फ उभिएका अधिकृतको वरियताक्रम पहिलो हुने अभ्यास छ ।
त्यही अनुसार वरियताक्रममा पहिलो भएकाको कमाण्ड देब्रेतिर उभिएका अधिकृतले स्वीकार्नुपर्ने हुन्छ । तर, आईजीपीमा बढुवा भएका सिंह पोखरेलभन्दा डेढवर्ष र थापा भन्दा करिब १० महिना कनिष्ठ अधिकृत हुन् ।
प्रधानमन्त्री देउवाले सुरक्षा संगठनको चेन अफ कमाण्ड नै खलबलिने गरी ‘आफूले रुचाएका’ सिंहलाई बढुवा गरेर अरु दुईजना वरिष्ठलाई पाखा लगाएका छन् ।
प्रहरीमा नेतृत्व चयन गर्दा जेष्ठता, योग्यता र क्षमताभन्दा बाहिरबाट नेतृत्व चयन गर्ने गलत थिति प्रधानमन्त्री शेरबहादुर देउवाले दोहोर्याएका छन् ।
प्रहरी संगठनभित्र राजनीति मौलाएको यो मात्रै घटना होइन । तर, यसपटकको निर्णय भने जेष्ठता नै मिच्ने गरी आएको छ । यसअघि वरियताक्रममा तलमाथि रहेकाबीच नै आफू अनुकुललाई ल्याउन हानथाप हुने गरेको थियो ।

