देशमा अहिले कम्युनिष्ट पार्टीको सरकार छ । अहिले केही राजनीतिक उतरचढाव देखिएको भएपनि अघिल्लो चुनावमा जनताले कम्युनिष्ट पार्टीलाई झण्डै दुइतिहाई मत दिएर जिताएर पठाएका थिए । झण्डै २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको नेपालमा कम्युनिष्ट पार्टीहरू प्रति खुबै आकर्षण छ ।
पहिलो संविधान सभाको चुनावमा पनि तत्कालीन माओवादीलाई नेपाली जनताले अभूतपूर्व मत दिएर जिताएका थिए । कम्युनिष्टहरूले सामान्य जनताको हितमा काम गर्छन् भनेर जनताले भोट दिएका हुनसक्छन् । कम्युनिष्ट दर्शन र पार्टीहरूको घोषणापत्र इत्यादीमा पनि त्यस्तै लेखिएका छन् ।
तर अहिलेसम्म नेपालका कम्युनिष्ट पार्टीहरूले जनताको हितमा केन्द्रित भएर कार्यक्रम ल्याएको र त्यसको प्रभावकारी कार्यान्वयन गरेको सुखद तथ्य हामीसँग छैन । कम्युनिष्टहरू पूँजीवादको खुब विरोध गर्छन् । र, पूँजीवादको सबैभन्दा देखिने रुप भनेको सेयर बजार हो ।
त्यसैले कम्युनिष्ट नेताहरू सेयर बजारको खुब विरोध गर्छन् । उदाहरणको लागि बाबुराम भट्टराइले अर्थमन्त्री हुँदा सेयर बजारलाई जुवाको खाल भन्दिए । यसैगरी युवराज खतिवडाले अनुत्पादक क्षेत्र भनेर यो क्षेत्रको हुर्मत लिए । भक्तपुरका सांसद प्रेम सुवालले संसदमै सेयर बजारलाई आक्रमण गरे ।
तर, तथ्यले के देखायो भने कोरोनाको महामारीको विषम परिस्थितिमा पनि सेयर बजार चलायमान रह्यो । समग्र अर्थतन्त्रमा सकारात्मक ‘भाइव’ सृजना गर्न यो क्षेत्र सफल रह्यो । साधारण मानिसहरूलाइ आफ्नो वित्तीय व्यवस्थापन गर्न पनि यो बजारले सिकायो ।
पछल्ला केही उदाहरण हेर्ने हो भने त यो बजारमा आएका केही कम्पनीहरूले धेरै साधारण नेपालीहरू ‘धनी’ नै बनायो, जुन काम ठूला नारा दिने कम्युनिष्ट सरकारहरूले गर्न सकेका छैनन् ।
सेयर बजारमा ‘वहार’ ल्याउने ३ कम्पनी पछिल्लो ३ वर्षमा नेपाली सेयर बजारमा ३ कम्पनीले इतिहासकै ठूलो आइपीओ (सेयर जारी गर्ने बेलासम्म) ल्याए । जसले नेपाली सेयर बजारको दायरा र लगानीकर्ताको संख्या ह्वात्तै बढाउनुका साथै सेयर भर्नेलाई राम्रो प्रतिफल समेत दियो ।
छोटो समयमै धेरै साधारण जनतालाइ ‘धनी’ बनाउने कम्पनीहरू हुन् अपर तामाकोशी हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी र नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) हुन् । २०७४ देखि धितोपत्र बोर्डले आइपीओको सन्र्दभमा १० कित्ते नीति अवलम्बन गरेको छ ।
यस्तो अवस्थामा आइपीओमा आवेदन गर्दा धेरै लगानीकर्ताको हात खाली हुने गरेको छ । तर यस्तो अवस्थामा अलि ठूलो आकारमा आइपीओ निकालेका यी कम्पनीहरूले भने कसैको पनि हाल खाली बनाएनन् र साधारण लगानीकर्तालाई एक हिसाबले ‘धनी’ नै बनाए ।
धेरै लगानीकर्ताले यी कम्पनीको सेयरबाट लाखौंसम्म कमाए । धेरै नयाँ लगानीकर्ताहरू बजार पसे । वित्तीय व्यवस्थापन गर्न थाले । सेयर सम्बन्धी चासै नराख्ने र ज्ञान समेत नभएका व्यक्तिहरू समेत बजारमा भित्रिन थाले ।
सेयर बजारको ‘गेम चेञ्जर’ आइपीओ ‘अपर तामाकोशी’ अपर तामाकोशीको आइपीओलाई नेपाली सेयर बजारको गेम चेञ्जर आइपीओको रुपमा लिइन्छ । यसले सेयर जारी गर्नु अघि कयौं कम्पनीको आइपीओ आए पनि सर्वसाधरणले खासै सेयर भर्ने गर्दैनथे ।
कतिपय अवस्थामा बैंक तथा वित्तीय संस्थाकै आइपीओ समेत अन्डरराइटरले व्यहोर्नुपर्ने अवस्था थियो । तामाकोशीले २०७५ मा सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । १ करोड ५८ लाख कित्ता सेयर जारी गरेको यो कम्पनीमा करिब ४ लाख मानिसले आवेदन दिएका थिए ।
अहिले दोस्रो बजारमा यो कम्पनीको सेयर प्रतिकित्ता ५०० हाराहारीमा कारोबार भइरहेको छ । यो आइपीओमा लगानीकर्तालाइ ४० देखि ५० कित्तासम्म हात परेको थियो । ४–५ जनाको परिबारले सबैको नाममा सेयर भरेको परिबारले यो आइपीओबाट राम्रो आम्दानी गरेको देखिएको छ ।
यो आइपीओले धेरै नयाँ लगानीकर्तालाइ बजार प्रवेश गराएको थियो । आयोजना प्रभावित क्षेत्रबाट पनि धेरै नयाँ लगानीकर्ताहरू बजार पसे । सेयर बजारको बारेमा जानकार बने ।
सेयर नै नबुझेकालाई समेत बजारमा आकर्षित गर्ने स्क्रीप्ट ‘नेपाल पुनर्बीमा’ त्यसपछि ठूलो आइपीओ गत वर्षको चैत महिनामा पुनर्बीमा कम्पनीले ल्यायो । कोरोनाको महामारीकै बीच आएको यो कम्पनीको आइपीओमा ४ लाख ५० हजार भन्दा बढिले आवेदन दिए र प्रति व्यक्ति ४० देखि ५० कित्तासम्म हात पारे ।
यो सेयरले त बजारमा तहल्का नै मच्चायो । प्रति कित्ता १८०० रुपैयाँसम्म पुग्यो । अहिले पनि यो सेयर प्रति कित्ता १६०० हाराहारीमा कारोबार भइरहेको छ । यो सेयरले केही हजार लगानी गर्ने धेरै लगानीकर्तालाइ लखपति नै बनायो ।
यो कम्पनीको सेयरका कारण आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा ह्वात्तै वृद्धि भयो । अनलाइन कारोबारको लागि आवेदन दिनेको संख्या पनि केही महिनामै बढेर १२ लाखबाट २५ लाखसम्म पुग्यो ।
१५ लाखलाई सेयरधनी बनाउन सफल ‘नेपाल इन्फ्रास्ट्रक्चर बैंक’ पुनर्बीमा कम्पनीको सेयरमा लगानी गरेका नगरेका सबैलाई आकर्षित गर्ने अर्को आइपीओ हो नेपाल इन्फ्रास्ट्रक्चर बैंक । निफ्राको आइपीओमा करिब १५ लाखले आवेदन दिए । यो कम्पनीले ८ करोड कित्ता सेयर निष्काशन गरेको थियो ।
निफ्रामा लगानीकर्ताले प्रति व्यक्ति ५० देखि ६० कित्तासम्म हात पारे । आज कारोबारको पहिलो दिन यो कम्पनीको सेयर प्रति कित्ता ३४० रुपैयाँमा खुलेको थियो । कारोबार खुल्ने वित्तिकै १० प्रतिशतले बढेर यसको सेयर मूल्य ३७४ रुपैयाँ पुगेको छ । यसको मतलब लगानी गरेको केही समयमै लगानीकर्ताले यो सेयरबाट प्रति कित्ता २७४ रुपैयाँ कमाएका छन् ।
अब आगामी दिनमा यो कम्पनीको सेयर मूल्य कहाँसम्म पुग्ला र लगानीकर्ताले कति कमाउलान, त्यो त भविष्यकै कुरा भयो । तर माथि उल्लेखित यी कम्पनी नेपाली सेयर बजार र धेरै साधारण लगानीकर्ताको वित्तीय जिवनमा ‘गेम चेन्जर’ नै भएको तथ्य भने अहिले नकार्न मिल्दैन ।