चन्द्रागिरी हिल्स कम्पनीको सेयर मूल्य साताको अन्तिम दिनको कारोबारमा २ हजार रूपैयाँ नाघेको छ । माघ २५ गते १६१ रुपैयाँमा धितोपत्रको दोस्रो बजारमा कारोबार सुरू भएको कम्पनीको सेयर मूल्य निरन्तर बढिरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । कारोबार सुरु भएको ३२ औँ दिनमा आज कम्पनीको सेयर मूल्य २ हजार ७९ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
कारोबारको २६ औँ दिनमा १ हजार रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य एक सातामै दोब्बर भएर २ हजार भन्दामाथि पुगेको छ । कम्पनीको सेयर हरेक दिन जसो सकारात्कम सर्किट लेभलमा कारोबार भइरहेको छ ।कम्पनीको सेयर मूल्य यसरी आकासिँदा पनि कम्पनीको सेयरको माग भने घटेको देखिँदैन ।
सुरवाती दिनमा न्यून कित्ताको सेयर कारोबार भएको कम्पनीको मूल्य बढेसंगै कारोबार कित्ता पनि बढिरहेको देखिन्छ । पछिल्ला तिन दिनमा कम्पनीको १५ हजारभन्दा बढी कित्ताको सेयर कारोबार भएको छ । फाल्गुन १२ गतेदेखि कम्पनीको सेयर मूल्य निरन्तर ९ प्रतिशतभन्दा बढीले बृद्धि भइरहेको छ ।
कम्पनीको सेयर मूल्य र कम्पनीको प्रतिसेयर आम्दानीलाइ तुलना गरि हेर्दा कम्पनीको अहिलेको सेयर मूल्य स्वभाविक नभएको बिश्लेषकहरुको तर्क छ । कतिपय लगानीकर्ताहरुले यस कम्पनीको सेयर कर्नरिङ भएको भन्दै नियमक निकायलाइ अनुसन्धानका लागि सामाजिक सञ्जालमार्फत दबाद दिइरहेको देखिन्छ ।
कम्पनीले प्रकाशन गरेको बित्तिय विवरण अनुसार कम्पनीको यो अर्थिक बर्षको प्रतिसेयर आम्दानी ४ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । एक बर्षमा प्रतिकित्ता ४ रुपैयाँ मुनाफा कमाउने कम्पनीको सेयरलाई २ हजारभन्दा बढी मूल्य हाल्नु कति उचित होला ? एक बर्षसम्म गरिएको २ हजार रुपैयाँको लगानीले ४ रुपैयाँ मात्र प्रतिफल
दिन्छ भन्ने जान्दाजान्दै त्यस्तो कम्पनीको सेयरमा लगानी गर्दा हुन सक्ने जोखिमका बारेमा पनि लगानीकर्ता आफैँ जानकार हुनु जरुरी छ । आजको मूल्यअनुसार कम्पनीको पिई रेसियो ५१९.७५ रहेको देखिन्छ । सामान्यत कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुपूर्व कम्पनीको प्रतिसेयर आम्दानी र पिई रेसियो हेर्ने गरिन्छ ।
सामान्यतः धेरै प्रतिसेयर आम्दानी र कम पिई रेसियो भएका कम्पनीमा लगानी गर्दा लगानी सुरक्षित हुने मानिन्छ ।राम्रो बित्तीय अवस्था भएका कम्पनीहरुमा लगानी गर्न सकेमा दीर्घकालिन रुपमा लगानीकर्ताहरुलाई राम्रो मुनाफा प्राप्त हुन सक्छ भने कमजोर बित्तीय अवस्थाका कम्पनीहरुमा लगानी गर्दा बढी जोखिम बहन गर्नु पर्ने हुन्छ ।