होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ ।
होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर रङ्गीन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली खेल्ने दिनभन्दा एक दिनपहिला राति होलीका दहन गरिन्छ ।
राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक–अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एक–अर्कासित मिल्छन् । हिन्दू धर्म मान्नेहरुको बाहुल्य भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ ।
फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा वृद्धवृद्धाहरु हातमा रङ्ग लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी दुश्मनीलाई बिर्सेर उत्साह–उमंगका साथ मनाउने गर्छन् । होली रङ्गहरूको चाड पनि हो । यो चाड फागुन महिनामा मनाइने हुँदा यसलाई फागुआको चाडले पनि चिनिन्छ ।
विशेष सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङ्गहरुको वर्षाले शहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । सबै पक्ष ठिक्कै लाग्छ तर अचेल विकृति बढेको छ ।त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफंै भष्म भएकी दिनका रुपमा होलीको पर्व पदार्पण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि प्रह्लाद घटनाक्रमसँग समबन्धित छ ।
नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षस्नी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको वध भएपछि गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको कथन पनि छ ।
नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेँलो रंग भगवान् कृष्णको प्रिय रंग हो । सौभाग्यको सूचक रातो रंगको प्रयोग पनि आज व्यापक गरिन्छ । अनुहार अनि शरीरभरि लागेका रंगहरु धुँदा हातैभरि रंगहरु हुने गर्दछ । खलल बगेका पानीका धारा या नुहाउने इनार अनि पोखरीका डिलहरु आज रंगीन हुने गर्दछन् ।
होलीका गीतहरु गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ । उपत्यकालगायत अन्य ठाउँहरुमा आजै अर्थात् फाल्गुण पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट बिदा दिइन्छ ।
धार्मिक मान्यताबाट अलग बनाएर केवल उत्साह अनि सद्भावका रुपमा हेरेरै त होला, नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् । बालबालिकाले पिच्कारी अनि स–साना बेलुनहरुका साथमा मज्जा लिन्छन् ।
फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काटेर त्यसका हाँगाबाट बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयष्कका लागि होली रंगहरु अनि भ्रातृत्व र साहसको पर्व हो ।
अन्य चाडपर्वजस्तै होलीका पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आ–आफ्नै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडेपछि होली पर्व शुरू भएको मानिन्छ । यसरी शुरू भएको होली पर्व पूर्णिमाका दिन चिरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ ।
तराईमा भने भोलिपल्ट होली खेलिन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसै गरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्यान्ड आदि देशमा पनि आ–आफ्नै प्रकारले यो पर्व मनाइन्छ । होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ ।
नेवारी परम्पराअनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवायुवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् । होलीको सन्दर्भमा गाइएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भाव व्यक्त गरिएका छन् ।
यस्तै होलीलाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ । भगवान् श्रीकृष्णको व्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, विहार, बंगाल, उडिसा, असाम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर, पञ्जाव, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोक–संस्कृतिको झलक पाइन्छ ।
त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तर प्रदेशको व्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली अर्थात् लौरोले प्रहार गर्ने होली निकै लोकप्रिय छ । धार्मिक र सामाजिकरूपले महिलालाई जिस्क्याउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो ।
किंवदन्तीअनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्क्याएका थिए । प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए । त्यति बेलादेखि नै यो परम्परा कायम छ । छिमेकी विहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ ।
त्यहाँको जोगिरा गायन अर्थात् जोगिरा सरर पूरा एसियामा लोकप्रिय छ । पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । यहाँ घर–आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ । पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ ।
अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ । आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्वपूर्ण पक्ष हो । फाल्गुण शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबारअगाडि चीर विशेषरूपले सजाएको लिंगो गाडेपछि होली शुरू भएको मानिन्छ भने पूणिर्माको राति उक्त चीर लिंगोलाई ढालेर जलाएपछि फागुपर्व समाप्त भएको ठानिन्छ । यस वर्षको फागुमा सबैमा शुभकामना ।